घरमै लखेटी-लखेटि ६ जनाको हत्या हुँदा बौद्धमानले पाएनन् पत्तो (भिडियोसहित)

चार ठाउँमा भेटियो ६ जनाको शव

संखुवासभाको मादी नगरपालिका उम्लिङमा एकै परिवारको ६ जनाको विभत्स हत्या हुँदा छेवैमा रहेका ९० वर्षे बौद्धमान कार्कीले पत्तो पाएनन् । बिहान ७ बजे जब छिमेकी उनको घर पुगे बौद्धमान छाँगाबाट खसेझैँ भए ।

कार्कीको घरमा सबैभन्दा पहिले पुग्ने व्यक्ति थिए स्थानीय प्रतिमान कार्की । प्रतिमान छिमेकी बौद्धमानको घरमा पुग्दा ९० वर्षीय बौद्धमान निदाइरहेका थिए । छेवैमा लडिरहेकी श्रीमतीको मृत्यु भइसकेको उनलाई पत्तो थिएन । बिहानै ६ नबज्दै बिउँझिने गरेका बौद्धमान सोमबार पनि सबेरै बिऊझिए तर परिवारका कसैलाई देखेनन् । सोचे बिहान उठेर छोरा बुहारी काममा गइसके ।

छेवैमा श्रीमतीलाई देखे उनलाई लागेन उनी मारिएकी छन् । आफूले खासै काम गर्न नसक्ने भएकाले सबेरै उठेर काम थिएन उनी फेरि निदाए । जब छिमेकी प्रतिमानले बौद्धमानलाई उठाए त्यसपछि घरका अरू सदस्यको सोधिखोजी भयो । तर, कोही भेटिएनन् । यति बेलासम्म अर्का छिमेकीले पनि यो अप्रिय खबर थाहा पाइसकेका थिए । उनी के भयो भन्दै आत्तिँदै आए आउँदा तिनले बाटोको खोल्सामा दुई जनाको शव देखे । त्यसपछि हल्लाखल्ला भयो गाउँलेहरू जम्मा भएर प्रहरीलाई खबर गरे ।

घटनास्थलमा सबैभन्दा पहिले पुगेका प्रतिमानले घटनाबारे भन्छन्, ‘म पुग्दा बुढो बुबा मात्र हुनुहुन्थ्यो। त्यसपछि आमालाई उठाउन खोज्दा उहाँको हत्या भइसकेको रहेछ । परिवारका अरूको खोजी भयो । तर, कोही पनि बोलेनन् । त्यसपछि बल्ल यताउता हेरेपछि शव देखिन थाले । त्यति बेलासम्म अरू एक दुईजना छिमेकी पनि आइसकेका थिए ।’

घरका ६ जनामध्ये ८० वर्षकी पार्वता कार्कीको शव भित्र, मनमाया र रञ्जनाको शव घरनजिकको खोल्सामा अनि दुई वटा नाबालकको शव घरमाथिको खरबारीमा भेटियो । स्थानीयले तत्काल प्रहरीलाई खबर गरे । शवको प्रकृति हेर्दा सायद उनीहरू भाग्दै गर्दा हत्या भएको अनुमान प्रत्यक्षदर्शीको छ ।

गाउँमा ६ जनाको हत्या भएपछि वरिपरिका सबैजसो छिमेकी घटनास्थलमा जम्मा भए । वातावरण आतङ्कित थियो । घटनास्थलमा जम्मा भएका छिमेकीहरूले स्थानीय वडाध्यक्षलाई फोन गरेपछि वडाध्यक्ष इलाका प्रहरी कार्यालय चैनपुरका तीन जना प्रहरीसँगै घटनास्थलमा पुगेका थिए ।

वडाध्यक्षका अनुसार शवहरू घोप्टो अवस्थामा थियो । दुई महिलाको शव एकै ठाउँमा थिए । ६ जनामध्ये एक जनाको पेट र टाउकोमा धारिलो हतियारले हानेको जस्तो देखिन्थ्यो भने अन्यको डुङ्गाले हानेर हत्या गरेको जस्तो देखिन्थ्यो । मकैबारी फाँडिएको छ । लखेटी लेखटि मारेको जस्तो देखिन्छ । ठाउँ ठाउँमा फुटेका चुराका टुक्रा भेटिएका छन् । मारेर भाग्दा हुनुपर्छ बारीमा मकैका बोट लछारिएको तथा धेरै ठाउँमा घाँसमा केही घिसारेको जस्तो देखिन्छ ।

प्रहरीका अनुसार बौद्धमानले कान कम सुन्ने र आँखा समेत धुमिल देख्छन् । कार्कीसँगको प्रारम्भिक बयानमा बेलुका ६ बजे खाना खाएर सुतेको त्यसपछि केही थाहा नभएको उनले बताएका छन् ।

बौद्धनाथका छोरा तेज बहादुरका दुई छोरा नरेश र रमेश वैदेशिक रोजगारीमा छन् । मलेसियामा रहेका रमेशकी श्रीमती रञ्जनाको परिवारसँगै हत्या भएको छ भने दुबईमा रहेका नरेशकी श्रीमती तारा झापाको दमकमा एक नाबालक छोरासँगै बस्छिन् । अब घरमा रहेका ७ जनामध्ये एक जना वृद्ध मात्र जीवित छन् ।

सोमबारको यो घटनापछि चार पुस्ताको एकै चिहान बनेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा घटना योजना बनाएरै भएको देखिन्छ । अहिले घटनास्थललाई सिल गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । जिल्लाबाट डिएसपीको कमान्डमा प्रहरी घटनास्थलमा पुगे पनि कुकुर र फरेन्सिक टोली पुगेपछि मात्रै शव उठाउने प्रहरीको तयारी छ ।

संखुवासभा हत्या : चार ठाउँमा भेटियो ६ जनाको शव

सङ्खुवासभा हत्या: दुई छोरा विदेश, तराईमा बस्ने कान्छी बुहारी बाँचिन्

संखुवासभा हत्या घटना: हत्याराले दुई नाबालक सँगै ८० वर्षीया वृद्धालाई समेत छाडेनन्

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार