सत्ता गठबन्धनमा आबद्ध माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको विद्यार्थी सङ्गठन अनेरास्ववियूले सोमबार गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला जलाएको छ ।
दार्चुलामा नेपाली युवक तुइनबाट महाकालीमा खसेको विषयलाई लिएर गरेको विरोध प्रदर्शनबारे गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर आपत्ति जनाएको विरोधमा अनेरास्ववियूले सोमबार दिउँसो गृहमन्त्रीको पुत्ला जलाएको हो । अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा राजधानीको मीनभवनमा भेला भएका विद्यार्थीहरूले गृहमन्त्रीको पुत्ला जलाएका हुन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएकोमा गृह मन्त्रालयले कारबाही गर्ने चेतावनी दिएपछि अनेरास्ववियू आक्रोशित बनेको हो । प्रदर्शनकारीहरुले एमसीसी खारेज गर्नुपर्ने, जयसिंह धामीलाई न्याय दिनुपर्नेलगायतका नाराहरू लगाएका छन् ।