सङ्खुवासभा हत्या: दुई छोरा विदेश, तराईमा बस्ने कान्छी बुहारी बाँचिन्

सङ्खुवासभामा एकैघरका ६ जनाको हत्या भएको छ । गए राती जिल्लाको मादी नगरपालिका- १ खोला गाउँका एकै परिवारका ६ जनाको हत्या भएको प्रहरीले पुष्टि गरेको छ ।

स्थानीय तेज बहादुर कार्कीको परिवारमा अज्ञात समूहले धारिलो हतियार प्रयोग गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी लालध्वज सुवेदी जानकारी दिएका छन् ।

सोमबार बिहान मात्र छिमेकीले सबैलाई मृत अवस्थामा भेटेपछि प्रहरीलाई जानकारी गराएको स्थानीय शिक्षक योगेन्द्र ओझाले जानकारी दिए । ५८ वर्षीया तेजबहादुर कार्की, उनकी ८० वर्षीया आमा पार्वता कार्की, ५६ वर्षीया श्रीमती मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएको ओझाले बताए ।

उनका अनुसार विभत्स अवस्थामा हत्या भएका ६ जनाको शव फरक फरक ठाउँमा भेटिएको छ । घटनाको प्रकृति हेर्दा लखेटी लखेटी हत्या गरेको हुन सक्ने अनुमान गर्न सकिन्छ । मृतकमध्ये ८० वर्षीय वृद्धाको शव घरभित्रै छ भने मनमाया र बुहारी रञ्जनाको शव घर नजिकैको खोलामा लडिरहेको देखिन्छ । यस्तै दुई बालबालिकाको शव घरमाथिको खरवारिमा भेटिएको थियो छ भने तेजबहादुरको शव घरदेखि अलिक परतिर रोडमा लगेर मारेको देखिन्छ ।

स्थानीयका अनुसार तेजबहादुरका परिवारमध्ये दुईछोराहरु जेठो नरेश कार्की मलेसिया र कान्छो रमेश कार्की दुबईमा छन् । रमेशकी श्रीमती रञ्जनाको हत्या भएको छ । तेज बहादुरकी कान्छी बुहारी नरेशकी श्रीमती झापामा एक्लै बस्ने भएकाले घटनाबारे भर्खरै जानकारी गराइएको स्थानीयले बताए ।

गाउँमै खेती किसानी गरेर जीविका चलाउँदै आएका तेज बहादुरको छिमेकमा कुनै झैझगडा वा रिसिईबी भएको आफूहरूलाई कुनै जानकारी नभएको स्थानीय छिमेकी बताउँछन् । तर, पुरै परिवारको विभत्स हत्या कसले र किन ग¥यो यो अनुसन्धानको विषय छ ।

घटनामा बाँच्न सफल ९६ वर्षीय तेजबहादुरको बुवा कान नसुन्ने र राम्रोसँग आँखा समेत नदेख्ने भएकाले प्रहरीले वृद्धलाई सोधपुछ गरे पनि घटनाबारे अनुमान गर्न सकिन कुनै पनि तथ्य नभेटिएको जनाएको छ । वृद्धले आफु बेलुका खाना खाएर सुतेपछि केही पनि थाहा नपाएको प्रहरीसँग प्रारम्भिक बयानमा बताएका छन् । बिहान उठेपछि घरमा सबै काममा गएको अनुमान गरेको थिए । तर, छिमेकीहरू घरमा आएपछि मात्रै आफूले घटनाबारे थाहा पाएको उनले बताएका छन् ।

घटनाको थप विवरण बुझ्नका लागि डिएसपी सुवेदीसहितको प्रहरी टोली घटनास्थलतर्फ लागेको छ । सदरमुकाम खाँदवारिबाट घटनास्थल पुग्न ६ घण्टा लाग्ने प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी निरीक्षक योगराज खतिवडाको टोली भने घटनास्थल पुग्न लागेको जनाएको छ ।

संखुवासभामा एकै घरका ६ जनाको हत्या

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार