एमालेको जुम्ला जिल्ला कमिटी माधवकुमार नेपालको एकीकृत समाजवादी पार्टीमा विलय भएको छ । शनिबार पत्रकार सम्मेलन गरी जिल्ला पार्टी कमिटीले सिंगै कमिटी समाजवादीमा गएको जनाएको हो ।
जिल्लामा गरिएको पत्रकार भेटघाटमा अध्यक्ष तिर्थ बुढा, उपाध्यक्ष नन्दबहादुर रोकाया, सचिव आदी प्रसाद न्यौपाने, उपसचिव राजबहादुर खत्री सहितका ६१ जना जिल्ला सदस्यहरु मध्ये तीन जनाबाहेक अन्य सबैले नेकपा एकिकृत समाजवादी पार्टी रोजेको जानकारी गराइएको छ ।
पत्रकार भेटघाटमा जारी गरिएको विज्ञप्तिमा प्रदेशसभा सांसद पदम रोकाया, नगरपालिकामा जितेका सबै वडाध्यक्षहरुको निर्वाचन आयोगमा सनाखत भइसकेको र अन्य जनप्रतिनिधिहरुले भाद्र २२ गतेसम्म सनाखत गर्न आह्वान गरिएको छ ।
पत्रकार भेटघाटमा प्रदेशसभा सांसद पदमबहादुर रोकायाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दम्भ र माधव नेपाललाई गरिएको तिरस्कारले आफूहरु नेकपा एकिकृत समाजवादीमा लाग्न बाध्य भएको बताए । उनले हिजो एउटा पनि प्रदेशमा माधव नेपाल पक्षकालाई मुख्यमन्त्री दिन नचाहने घमण्डले ओली आफैँ कमजोर भएको बताए ।