कोभिड खोप खरिदका लागि विश्व बैंकद्वारा झण्डै ९ अर्ब ऋण सहायता

कोभिड–१९ को खोपका लागि विश्व बैंकले ८ अर्ब ७० करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहयोग गरेको छ ।

कोभिड–१९ विरुद्धका सुरक्षित र प्रभावकारी खोपहरुको पहुँच विस्तार गर्न शुक्रबार अर्थ मन्त्रालयमा विश्व बैंक र नेपाल सरकारबीच ७ दशमलव ५ करोड अमेरिकी डलर अर्थात ८ अर्ब ७० करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहयोग सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशीरकुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले हस्ताक्षर गरेका थिए ।

‘कम्तीमा पनि ७२ प्रतिशत नेपाली जनसंख्यालाई खोप दिने सरकारको बृहत् योजनाका लागि यस अतिरिक्त वित्तीय सहयोगले महत्वपूर्ण र समय(सान्दर्भिक सहयोग पुर्‍याउनेछ,’ अर्थ सचिव शिशीर कुमार ढुंगानाले भने, ‘कोभिड–१९ महामारीको स्वास्थ्यसम्बन्धी प्रतिकार्यका लागि कोभिड–१९ विरूद्धका खोपहरूको खरिदका साथै नेपालको राष्ट्रिय खोप वितरण योजना अनुरूपको प्रभावकारी खोप सेवा विस्तार र नेपालको स्वास्थ्य प्रणालीको सुदृढीकरण गर्न यो अतिरिक्त वित्तीय सहयोग उपयोगी हुनेछ ।’

मल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद(जर्भोसले कोभिड(१९ विरूद्धका सुरक्षित र प्रभावकारी खोपहरूको समतामुलक र द्रुत पहुँच बिस्तार गर्नु नेपालमा महामारीबाट जीवन रक्षा गर्न र उत्थानशिल पुनर्लाभ प्राप्त गर्न निकै महत्वपूर्ण भएको बताए ।

उनले विश्व बैंक नेपालमा जीवन रक्षा, सार्वजनिक स्वास्थ्य तयारी प्रणालीको सुदृढीकरण र नेपालको आर्थिक पुनर्लाभलाई उत्प्रेरित गर्न महामारी प्रतिकार्यलाई सहयोग गर्न प्रतिबद्ध रहेको समेत बताए ।

विकासशील देशहरूका लागि आर्थिक कोष र ज्ञानको ठूलो स्रोतका रूपमा रहेको विश्व बैंकले विकासशिल देशहरूलाई यस महामारीका स्वास्थ्यसम्बन्धी, सामाजिक र आर्थिक असरहरू विरुद्धको प्रतिकार्यमा सघाउन विस्तृत तथा द्रुत कार्यक्रम अगाडि बढाएको छ ।

यसअन्तर्गत कम तथा मध्यम आय भएका देशहरूमा कोभिड–१९ का खोपहरूको खरिद, वितरण, परिक्षण र उपचारमा सहयोग गर्नका साथै खोप प्रणालीको सुदृढीकरणका लागि बैंकले स्थापना गरेको १२ अर्ब डलरको प्याकेज अन्तरगत यो सहायता प्राप्त भएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार