नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन् । गौतमले एमालेको सबै पदबाट राजीनामा दिएको पत्र पार्टी कार्यालय सचिव शेरबहादुर तामाङलाई बुझाएका हुन् । अध्यक्ष केपी शर्मा ओलीको गलत विचार, प्रवृत्ति र शैलीका कारण एमालेमा रहिरहन नसक्ने भन्दै उनले उपाध्यक्ष र पार्टीको सबै जिम्मवारीबाट राजीनामा दिएको पत्र पार्टी कार्यालयका सचिवलाई बुझाएका हुन् ।
राजीनामा पत्रमा गौतमले एमाले अध्यक्ष ओलीमाथि नवौं महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशालाई कहिल्यै अवलम्बन नगरेको आरोप लगाएका छन् । गौतम एमालेको नवौँ राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका थिए । राजीनामा पत्रमा एमाले अध्यक्ष केपीको कार्यशैलीको आलोचना गरिएको छ । राजीनामा पत्र बुझाउँदै गौतमले एमालेका नेताहरुसँग व्यक्तिगत सम्बन्ध रहे पनि राजनीतिक रुपमा एमालेमा अब रहन नसक्ने बताए थिए ।
२०५४ सालमा एमाले विभाजन गरेर नेकपा माले गठन गरेका गौतमले २५ वर्षपछि पुनः एमाले छाडेका छन् । उनी एमालेबाट राष्ट्रियसभाका सदस्य छन । गौतमले एमालेबाट राजीनामा दिए पनि माधव नेपालको पार्टीमा लाग्ने, नलाग्नेबारे गौतम खुलिसकेका छैनन् ।
एमालेबाट फुटेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी गठन भएको छ । गौतमले एकीकृत समाजवादीमा सहभागी हुन अध्यक्ष नेपालसँग जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने, संघीयता परिमार्जन गर्नुपर्ने लगायतका चार शर्त राखेका छन् । आफ्नो शर्त पूरा भए एकीकृत समाजवादीमा लाग्ने गौतमको भनाइ छ । जबज छोडेर एकीकृत समाजवादीमा लाग्न नसकिने गौतमको भनाइ थियो ।