आगामी तीन वर्षमा याङ्ग्री र लार्केको पानी काठमाडौंमा ल्याउने प्रधानमन्त्रीको घोषणा (भिडियो)

प्रधानमन्त्री केपी शर्मा ओलीले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना औपचारिक रुपमा काठमाडौं उपत्यकामा भित्रिएसँगै देशमा नयाँ सफलता प्राप्त भएको बताएका छन् । उनले आगामी तीन वर्षपछि याङ्ग्री र लार्केको पानी काठमाडौ ल्याउने पनि बताएका छन् ।

शुक्रबार काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले २०८१ को नयाँ वर्षमा याङ्ग्री र लार्केको पानी आउने विश्वास व्यक्त गरेका हुन् ।

उनले खानेपानी मन्त्रालयलाई आगामी तीन वर्षमा यी दुई नदीको पानी आउने वातावरण बनाउनका लागि त्यसै अनुरुप काम अगाडि बढाउन निर्देशन समेत दिएका छन् । मेलम्चीको सुरुङ बनिसकेकाले याङ्ग्री र लार्केको पानी ल्याउन गाह्रो नभएको भन्दै उनले भने, ‘प्राविधिक रुपमा कति लाग्छ थाहा छैन, तर तीन वर्षभन्दा बढी लाग्नु हुँदैन ।’

उनले पूर्वाधार विकासमा सरकारले चौतर्फीरुपमा प्रगति गरेको सुनाएका छन् । प्रधानमन्त्री ओलीले विकास निर्माणका कामहरु एक–अर्कोसँग नबाँझिने गरि विभिन्न मन्त्रालय र अन्तर–मन्त्रालयहरुसँग प्रभावकारी रुपमा समन्वय गर्दै विकास निर्माणको काम अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री औलीले आगामी नयाँ वर्षमा पुननिर्मित धरहरा पनि उद्घाटन हुने बताएका छन् । यससँगै प्रधानमन्त्रीले सरकारलाई काम गर्न नदिएकै कारण देशमा विभिन्न अन्यौलता उत्पन्न भएको अवस्थामा सरकारलाई फेरि पनि काम गर्न नदिन विभिन्न बाधाहरु उत्पन्न भएको बताए ।

Loading...