नेपाल कम्यूनिष्ट पार्टी (एमाले)ले निर्वाचन आयोग र सभामुख अग्नि प्रसाद सापकोटा विरुद्ध दायर गरेको रिटमा शुक्रबार प्रारम्भिक सुनुवाइ हुँदैछ । आयोगसहित तीन थान मुद्दा न्यायाधीश मीरा खड्काको इजलासमा तोकिएको छ।
बुधबार सर्वोच्च अदालतमा एमालेले निर्वाचन आयोग, सभामुख अग्नि सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विरुद्ध रिट निवेदन दर्ता गरेको थियो ।
निर्वाचन आयोग विरुद्धको रिट निवेदनमा बदनीयतपूर्ण र अनाधिकृत व्यक्तिहरुलाई हस्ताक्षर गरेर एमाले फुटाउन गरेको हस्ताक्षरलाई मान्यता दिएको भन्दै अन्तरिम आदेश माग गरिएको छ ।
यसैगरी, दोस्रो रिट निवेदनमा पार्टीले कारबाही गरिसकेका १४ सांसदकोसमेत सनाखत गरी नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गर्नु त्रुटिपूर्ण भएको भन्दै त्यसलाई बदर गर्न माग गरिएको छ । निर्वाचन आयोगले प्रक्रिया मिचेर धेरै संख्या पुर्याएर एकीकृत समाजवादी दर्ता गरेको एमालेको दाबी छ ।
रिटमा नयाँदिल्लीमा रहेका एमाले नेता झलनाथ खनालको सनाखत हुनै नसक्ने अवस्थामासमेत गैरकानुनी रुपमा स्वीकार गरेको दाबी गरेको छ ।
एकीकृत समाजवादी दर्ता गर्दा दिल्लीमा रहेका खनालको समेत वारेसमार्फत् सनाखत गर्नु कानुनविपरीत भएको भन्दै एमालेले निर्वाचन आयोगको निर्णय बदर गर्न माग गरेको छ।