बागलुङ बडिगाड घटनाका ८ अभियुक्त सार्वजनिक

भरत सापकोटा, टिभी अन्नपूर्ण, बागलुङ । बागलुङको बडिगाडमा होली खेल्ने क्रममा ग्याङ फाइट हुँदा २ जनाको हत्या गरेको आरोपमा पक्राउ परेका आठ जनालाई सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले आज पत्रकार सम्मेलन गरि उनीहरुलाई सार्वजसनक गरेको हो ।

बडिगाड गाउँपालिका–१० दर्लिङको बल्देधुरीमा होलीको दिन दर्लिङ र राजकुतका युवाहरुबीच ग्याङ फाइट हुँदा आक्रोसित युवाले दुई जनालाई भिरबाट धकेल्दा निसीखोला गाउँपालिका –७ का ३६ वर्षीय प्रकाश कुँवर र २९ दीपक परियारको मृत्यु भएको थियो ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा बडिगाड गाउँपालिका–१० दर्लिङका २८ वर्षीय रेशम बुढा मगर, २३ वर्षीय मिलन बुढा, २४ वर्षीय रेशम भन्ने भेषराज बुढा, २३ वर्षीय कुमार छन्त्याल, ३३ वर्षीय झनबहादुर बुढा, तिर्थलाल बुढा, ३१ वर्षीय सूर्य बुढा र ३६ वर्षीय ढालबहादुर बुढा पक्राउ परेका हुन् ।

घटनालगत्तै फरार रहेका मिलन बुढा र भेषराज बुढा गुल्मी, कुमार छन्त्याल रुपन्देहीबाट पक्राउ परेका थिए । चार जना दर्लिङबाट पक्राउ परेका थिए भने सूर्य बुढा र ढालबहादुर बुढाले जिल्ला प्रशासन कार्यालयमार्फत आत्मसमर्पण गरेका थिए ।

पक्राउ पर्नेमाथि जिल्ला अदालतबाट म्याद थप गरी घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले जानकारी दिए ।

होली खेल्ने क्रममा युवतीलाई जबरजस्ती रंग दलेको विषयलाई लिएर दुई समुहबीच झगडाको सुरुवात भएको थियो । प्रहरी प्रमुख मगरका अनुसार घटना सुनियोजित भन्दा पनि परिस्थितिजन्य घटनाबाट सृजना भएको बताएका छन् ।

दुवै समुहका युवाहरुले मदिराको उन्मादमा घटनालाई दुर्घटनामा पुर्याएको प्रहरीको प्ररम्भिक अनुसन्धानले पुष्टि गरेको उनको भनाइ छ । झडपमा अन्य व्यक्तिहरु पनि संलग्न रहेको आशंका गरिएको र उनीहरुलाई पनि थप निगरानीमा राखिएको उनले बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार