प्रधानमन्त्रीविरुद्धको अवहेलना मुद्दा ‘हेर्न नभ्याइने’मा

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अदालतको अवहेलना मुद्दामा आज सुनुवाइ नहुने भएको छ । सर्वोच्च अदालतमा पेशी चढेको भए पनि मुद्दा ‘हेर्न नभ्याइने’ मा परेको हो । उक्त मुद्दा सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरि फुयालको संयुक्त इजलासमा परेको थियो ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ चलिरहेका बेला प्रधानमन्त्रीले दिएका अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र कुमार आचार्य लगायतले अवहेलना मुद्दा दायर गरेका थिए ।

सो रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न भनेको थियो ।

प्रधानमन्त्री ओलीले आफूले अदालतको अवहेलना गर्ने मनसाय नराखेको प्रष्टीकरण दिँदै प्रधानमन्त्रीविरुद्ध मुद्दा हाल्ने कामलाई निरुत्साहित गर्नुपर्ने भनी लिखित जवाफ पेश गरिसकेका छन् ।

Loading...