आजदेखि काठमाडौं उपत्यकाको फोहोर उठ्ने

काठमाडौं उपत्यकाको फोहोर एक सातापछि आजबाट उठ्ने भएको छ । काठमाडौं महानगरपालिका र सिसडोलवासीबीच भएको वार्तापछि फोहोर उठाउने सहमति भएको हो । सिसडोलका स्थानीय बासिन्दाले फोहोरमैला प्रभावित क्षेत्रमा शिक्षक व्यवस्थापन संघर्ष समिति नै बनाएर विभिन्न माग राख्दै चैत १३ गतेदेखि फोहोर विसर्जनमा अवरोध गर्दै आएका छन् ।

सहमतिको मस्यौदा तयार भइरहे पनि फोहोर बोकेका गाडीलाई सिसडोलमा जान दिइसकेको शिक्षक व्यवस्थापन संघर्ष समितिका संयोजक अनिस शर्मा ढुङगानाले बताए । ‘सहमति भइसकेको छ, हस्ताक्षरका लागि मस्यौदा तयार भइरहेको छ,’ उनले भने, ‘फोहोरका गाडीलाई सिसडोल ल्याण्डफिल साइटमा जाने अनुमति दिइसकेका छौं ।’ सहमतिअनुसार नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाले पूर्वाधार विकासका लागि आगामी आर्थिक वर्षमा तीन(तीन करोड पाउने भएका छन् ।

यस्तै प्रभावित क्षेत्रका विद्यालयहरुमा संघीय सरकारबाट स्थायी दरबन्दी आएपछि स्वतः हट्ने गरी तत्कालका लागि ५१ जना शिक्षकको तलब खर्च व्यहोर्न काठमाडौं महानगरपालिकाले बजेट अनुदान दिने प्रतिवद्धता व्यक्त गरेको छ । बन्चरे डाँडालाई आधार मानेर स्थानीय प्रभावित क्षेत्रमा जग्गा अधिग्रहण गर्न विज्ञ टोली बनाएर प्रक्रिया अघि बढाउने र सिसडोलको पोस्ट क्लोजर गर्नेबारे पनि सहमति भएको छ ।

यस्तै प्रभावित क्षेत्रमा १५ बेडको अस्पताल सञ्चालनका लागि पूर्वाधार निर्माण गर्ने र डाक्टरका लागि आवश्यक रकम सहयोग गर्ने महानगरको प्रतिवद्धता छ । तर, तत्कालका लागि वैकल्पिक व्यवस्थामार्फत स्वास्थ्य व्यवस्था मिलाउने सहमति पनि भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार