एमाले महासचिव ईश्वर पोखरेल भने- अध्यक्षका लागि योग्य छु

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आफूलाई आसन्न महाधिवेशनमा पार्टी अध्यक्षको उम्मेदवारको रूपमा अघि सार्ने सङ्केत गरेका छन् ।

सोमबार सञ्चारकर्मीसँगको कुराकानीमा महासचिव पोखरेलले आफ्नो राजनीतिक पृष्ठभूमिबारे जानकारी दिँदै आफू आगामी महाधिवेशनमा अध्यक्ष बन्न योग्य रहेको धारण व्यक्त गरे । सञ्चारकर्मीले राखेको जिज्ञासामा पोखरेलले आफु उम्मेदवार हुने वा नहुने भन्ने देशको परिस्थिति र कार्यकर्ताको चाहनामा भर पर्ने बताए ।

आफू क्षमता, निष्ठा, इतिहास र निरन्तरताका आधारमा एमालेको अध्यक्षका लागि नेता हुन योग्य रहेको उनको भनाई थियो ।

‘म व्यक्तिगत ढङ्गले भने मेरो हिस्ट्री मेरो निरन्तरताले मेरो क्षमता, म डिजर्भ गर्छु भनिरहनै परेन’ उनले भने, ‘तर देशको परिस्थिति कस्तो हुन्छ, देशभरिको कार्यकर्ताको चाहना के हुन्छ यसले निर्धारण गर्नेछ’ महासचिव पोखरेलले भने ।

पार्टीको महाधिवेशनको मिति तय भएपछि पोखरेलले आयोजना गरेको सञ्चारकर्मी भेटघाट तथा चियापान कार्यक्रमलाई धेरैले महत्त्वका साथ हेरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार