सभामुखले आफ्नो सांसद पद खाइदिएको सरिता गिरीको आरोप

राजीनामा दिन माग

सांसद पदबाट पदमुक्त गरिएकी सरिता गिरीले सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो सांसद सदस्यता खाईदिएको आरोप लगाएकी छिन् । आइतबार सामजिक सञ्जाल फेसबुकमार्फत उनले सभामुख सापकोटाको राजीनामा पनि माग गरेकी छिन् । उनले सापकोटा सभामुख योग्य नभएकोसमेत बताएकी छिन् ।

उनले फेसबुकमा लेखेकी छिन्, ‘सभामुख अग्नि सापकोटा जी राजीनामा दिनुस् र सभामुख पद को गरिमा बचाई दिनुस् । तपाई सभामुख हुने योग्य व्यक्ति होइन । मेरो सांसद सदस्यता बारेमा निर्णय गर्दा तपाई ले हतार हतार आफ्नो पनि कुरा थपी निर्णय गरी मेरो सांसद सदस्यता खानु भयो ।’

गिरीले निर्वाचन आयोगले जसपाबारे निर्णय गरिसकेर दुवै पार्टीका नेतालाई प्रमाण पत्र लिन बोलाइसके अवस्थामा पनि सभामुखले राजनीतिक पूर्वाग्रह राखेर कारबाही गरेको उनको तर्क छ । ‘निर्वाचन आयोगले प्रमाणपत्र लिन बोलाउँदा पनि तपाईँको निर्णय पर्खिबसेका जसपाको दुवै पक्षका नेता प्रमाण पत्र लिन गएनन्’, उनले भनेकी छिन् , ‘त्यो दिन शुक्रवार थियो। आइतवार तपाईँले सूचना निकाल्नु भयो । नेताहरू त्यस दिन सम्राट्को चालमा हिँड्दै निर्वाचन आयोगबाट प्रमाणपत्र लिएर जसपा भएका थिए’ ।

उनले सभामुखले त्यसबेला न्यायको हत्या गरेको पनि आरोप लगाएकी छिन् । त्यस्तै उनले सभामुख डा.बाबुराम भट्टाईको कार्यकर्ता भएको समेत आरोप लगाएकी छिन् । गिरीले आफू कहिल्लै मधेसी दलमा नलाग्ने घोषणा गरेकी छिन् भने कट्टरपंथी कम्युनिष्टको बिरोधी भएकोसमेत बताएकी छिन् । उनले कम्युनिष्टको हातमा कानुन बाँदरको हातमा नरिवल भएको टिप्पणीसमेत गरेकी छिन् । त्यस्तै उनले सापकोटालाई अनैतिक सभामुखको संज्ञा दिएकी छिन् । उनले भनेकी छिन्  ‘यस्तो अनैतिक सभामुख संसारमा कतै भएको उदाहरण पाउन गाह्रो हुन्छ ‘।

गिरी यसअघि प्रतिनिधि सभा सदस्य थिइन । समाजवादी पार्टीबाट सांसद बनेकी गिरीलाई २०७७ को असारमा पार्टीले हृवीप उल्लंघन गरेको भन्दै कारबाही गरेको थियो । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन हालेकी थिइन् । समाजवादी पार्टीको संसदीय दलले संशोधन फिर्ता लिन र विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिएपनि उनले अटेर गरेकी थिइन् । त्यसलगतै उनलाई कारबाही गरिएको थियो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार