यी हुन् आजका मुख्य समाचार (भिडियोसहित)

प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच बालुवाटारमा भेटवार्ता
प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ दलका तीन नेताबीच आइतबार भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवाले आइतबार सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालसँग छलफल गरेका हुन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन नेताबिच भएको भेटमा मन्त्रिपरिषद् विस्तारका सम्बन्धमा छलफल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालले जानकारी दिएका छन् । उनले छिटै मन्त्रिपरिषद् बिस्तार हुने बताए । गठबन्धनका दलहरू पार्टीको आन्तरिक छलफलमा रहेकाले मन्त्रिपरिषद् बिस्तारमा ढिलाइ भएको उनको भनाई छ ।
हाल मन्त्रिमण्डलमा प्रधानमन्त्रीसहित ६ जना रहेका छन् । जसमा काँग्रेस र माओवादीका दुई÷दुई मन्त्री र काँग्रेसका तर्फबाट एक राज्यमन्त्री रहेका छन् ।
पार्टीभित्रको फोहोर फालेर सफा बनाउँदा सबैको आकर्षणको केन्द्र हुन्छौ : माधव नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीभित्र एमाले प्रवृत्ति नदोहरिने स्पष्ट पारेका छन् । संसद् भवन नयाँ बानेश्वरमा आइतबार बसेको पार्टीको पहिलो संसदीय दलको बैठकमा कम्युनिस्ट आन्दोलन बचाउनकै लागि विद्रोह गरिएको भन्दै आफ्नो पार्टीमा अव एमाले प्रवृत्ति नदोहरिने बताएका हुन् । उनले यसअघि एमालेमा एकल हस्तक्षेप हाबी भएको, कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्न खोजिएको र फरक बिचारलाई उपेक्षा गरिएको आरोप लगाएका छन् ।
यसअघि पनि मनमोहन अधिकारी, मोहनविक्रम, तुलसीलालले विभिन्न समयमा विद्रोह गरेर फरक–फरक समूह बनाएको र त्यसले कम्युनिस्ट आन्दोलन, राष्ट्रियता बचाएको भन्दै उनले अहिले पनि केपी ओलीले व्यवस्थाविरुद्ध गतिविधि गरेकाले विद्रोह गर्नुपरेको जिकिर गरे ।  उनले पार्टीभित्रको फोहोर फालेर सफा बनाउँदा सबैको आकर्षणको केन्द्र हुने धारणा ब्यक्त गरेका छन् । त्यस्तै उनले अहिले नै अरू कुनै पार्टीसँग एकीकरण नगर्ने र देशव्यापी रूपमा बलियो सङ्गठन बनाउने बताए । केही व्यक्तिहरूले अरू दलमा विलीन हुन गइरहेको हल्ला चलाएको भन्दै अध्यक्ष नेपालले कुनै पनि भ्रममा नपर्न आग्रह गरे । उनले नयाँ पार्टी गठन गर्दा अनेक अवरोध सिर्जना गरिएको भन्दै सबै बाधा अवरोध हटाउन सफल भएको तर्क गरेका छन् ।
यस्तै नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत रूपमा चयन भएका छन् । संसदीय दलको बैठकले नेपाललाई सर्वसम्मत रूपमा संसदीय दलको नेतामा चयन गरेको हो । स्थायी कमिटीका सदस्य मुकुन्द न्यौपानेले नेपाललाई संसदीय दलको नेतामा प्रस्ताव गरेका थिए । त्यस्तै बैठकले राष्ट्रियसभा दलको नेतामा बेदुराम भुसाललाई चयन गरेको छ ।
आज दोस्रो लहरकै कम कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या दोस्रो लहरकै सबैभन्दा कम बिन्दु १ हजार ३८८ मा आइपुगेको छ । यसअघि दोस्रो लहरको कम संक्रमण असार २० गते १ हजार ६०३ जनामा देखिएको थियो । तर आइतबार असार २० गतेको भन्दा २१५ जना कम संक्रमित भेटिएका हुन् । देशभर गरिएको ७ हजार २ सय ५९ पिसिआर परीक्षणका क्रममा १ हजार २ सय १४ जना र ३ हजार ३८ एन्टीजेन परीक्षणका क्रममा १ सय ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै कोरोना सङ्क्रमितको सङ्ख्या ८ लाख ४२ हजार १ सय ९३ पुगेको छ ।
त्यस्तै कोरोनाका कारण थप २४ जनाको मृत्यु  भएको छ । यो सँगै नेपालमा  १० हजार ७ सय १४ जनाको कोरोनाका कारण ज्यान गुमाएका छन् । गत २४ घण्टामा थप २ हजार २ सय ६०  सङ्क्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख १२ हजार ७ सय १२ जनाले कोरोना जितेका छन् । हाल नेपालमा ३५ हजार ७ सय ९६ सक्रिय सङ्क्रमित छन् । जसमध्ये ३२ हजार ७४४ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ५२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३४३ जना आइसियु र १६७ जना भेन्टिलेटरमा उपचाररत छन् ।
बुटवलको ज्योतिनगर क्षेत्रमा २३ वर्षपछि पहिरो, सिंगो वस्ती नै जोखिममा
अविरल वर्षाका कारण बुटवलको ज्योति नगर क्षेत्र माथिबाट पहिरो खस्दा सिङ्गो बस्ती नै जोखिममा परेको छ । चुरे पहाड तल रहेको ज्योति नगर क्षेत्र माथिबाट पहिरो खस्दा दर्जन बढी घरमा क्षति पुगेको छ ।  पहिरोले तीन वटा घर पुरेको छ भने अन्य घरहरूमा पनि बस्न नहुने गरी क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । गत शुक्रबार नै बस्ती माथिको वन क्षेत्रमा पहिरो गएपछि सतर्क अवस्थामा रहेकाले मानवीय क्षति भने हुन नपाएको बताइएको छ ।
स्थानीयवासीले पहिरोले क्षति पुर्‍याएका घरबाट सामान निकालेका छन् भने अन्य घरका बासिन्दाहरू पनि घर छाडेर अन्यत्र गइरहेका छन् । पहिरोपछि आफूहरूलाई खाने र बस्ने समस्या भएको स्थानीयहरूले गुनासो गरेका छन् ।
यसअघि २०५५ सालमा गएको पहिरोले ज्योति नगर क्षेत्रमा ठूलो विपत्ति ल्याएको थियो ।
भीम रावल, घनश्याम भुषाल, योगेश भट्टराईलगायतले गर्दा माधव नेपालले एमाले विभाजन गरे : नेता पाण्डे
नेकपा (एमाले) का सांसद सोमप्रसाद पाण्डेले एमालेका मध्यमार्गी तथा दोस्रो तहका नेताहरूकै कारण माधव नेपालले पार्टी विभाजन गरेको बताएका छन् ।  रिपोटर्स क्लबले आइतबार काठमाडौँमा गरेको साक्षात्कारमा उहाँले माधव नेपालले मात्र नभई स्थायी कमिटीका सबै जनाले धकेल्दै धकेल्दै विभाजनमा पुराएको बताएका हुन् । माधव नेपाललाई पार्टी विभाजनको अवस्थामा पु¥याउने काम नै भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराईहरूले गरेको उनको आरोप थियो । आफू पार्टी एकताको क्रममा सबै विषयमा चासो राख्ने नेता भएको उल्लेख गर्दै माधव नेपाल विभाजनमा जाँदा दुःख लागेको पनि उनले बताए । आफूले पनि निर्वाचन आयोगमा एकीकृत समाजवादीमा रहनेगरि सनाखत गर्न गएको र अहिलेसम्म आयोगले निर्णय नदिएको पनि उनले बताएका छन् ।
साक्षात्कारमा काँग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री मीन विश्वकर्माले राजनीति दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनु गलत नभएको बताए । अहिले शेरबहादुर देउवाले संसद् पूनःस्थापना गरेर संसद्को अधिवेशन अन्त्य भएको बेलामा ल्याएको उनको भनाई छ । एमाले नेताहरूले काँग्रेसले आफ्नो पार्टी फुटाइदिएको भनेर लगाएको आरोपमा पनि कुनै सत्यता नभएको विश्वकर्माको टिप्पणी थियो । त्यस्तै, राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले आफ्नो पार्टी तत्काल सरकारमा नजाने स्पष्ट पारेका छन् ।
९ करोडको कोकिनसहित ३ जना पक्राउ
दक्षिण अफ्रिकाबाट नेपाल हुँदै भारतमा कोकिन सप्लाइ गर्ने समूहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।  तीन मुलुकका तीन जना नागरिकलाई झन्डै ३ किलोग्राम कोकिन सहित नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले पक्राउ गरेको हो । पक्राउ पर्नेमा एक जना दक्षिण अफ्रिकी, एकजना तान्जेनियाका र एक जना भारतीय नागरिक रहेको ब्युरोले जनाएको छ । उनीहरूबाट जफत भएको लागू औषधको मूल्य करिब ९ करोड रुपैयाँ पर्ने प्रहरीले जनाएको छ , दक्षिण अफ्रिकी नागरिक सार्ली गामा भदौ ३ गते कतार एयरबाट केपटाउन, दोहा हुँदै काठमाडौँ आएका थिए ।
उनले उतैबाट लागू औषध ल्याएको प्रहरीलाई बयान दिएका छन् । त्यस्तै उनले ल्याएको कोकिनको नेपालमा तान्जेनियन नागरिक किमारोले व्यवस्थापन गरेर भारत लैजाने तयारी गरेका थिए । दुई बाहेक भारतीय नागरिक विजय सिंह पनि आपराधिक गतिविधिमा जोडिएको प्रहरीले जनाएको छ । सार्लीलाई काठमाडौंको कमलादीमा रहेको एक होटेलबाट पक्राउ गरेको र किमरो भने भारत फरार हुने क्रममा सिन्धुलीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यमनी सैन्य अखडामा हमला, सरकार समर्थित ३० लडाकुको मृत्यु
यमनको सबैभन्दा ठूलो सैन्य हवाई अड्डामा आइतबार भएको हमलामा परी कम्तीमा ३० जना सरकार समर्थक लडाकूकोे मृत्यु भएको छ ।  घटनामा दर्जनौँ अन्य घाइते भएका छन् । उक्त हमलाका लागि इरानको निकट मानिने यमनी हुथी विद्रोहीलाई दोषी ठह-याएको चिकित्सक तथा सरकार निकट उक्त लडाकु समूहले जानकारी गराएको छ ।
सैनिक चिकित्सकले घटना लगत्तै दिएको प्रतिक्रियामा सात जनाको मृत्यु भएको बताएपनि अस्पतालमा पुगेका अन्य २३ जनाको पनि उपचारका क्रममा मृत्यु भएको बताएका छन् । घाइतेमध्ये अझै केहीको स्वास्थ्य अवस्था गम्भीर रहेकोले मृतक सङ्ख्या अझै बढ्नसक्ने बताइएको छ  । हुथी समूहले यस घटनाबारे कुनै प्रतिक्रिया जनाइसकेको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार