भीम रावललगायतका नेताहरूले गर्दा माधव नेपालले एमाले विभाजन गरे : नेता पाण्डे

नेकपा (एमाले) का सांसद सोमप्रसाद पाण्डेले एमालेका मध्यमार्गी तथा दोस्रो तहका नेताहरूकै कारण माधव नेपालले पार्टी विभाजन गरेको बताएका छन् ।  रिपोटर्स क्लबले आइतबार काठमाडौँमा गरेको साक्षात्कारमा उनले माधव नेपालले मात्र नभई स्थायी कमिटीका सबै जनाले धकेल्दै धकेल्दै विभाजनमा पुराएको बताएका हुन् ।
माधव नेपाललाई पार्टी विभाजनको अवस्थामा पुर्‍याउने काम नै भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराईहरूले गरेको उनको आरोप थियो । आफू पार्टी एकताको क्रममा सबै विषयमा चासो राख्ने नेता भएको उल्लेख गर्दै माधव नेपाल विभाजनमा जाँदा दुःख लागेको पनि उनले बताए । आफूले पनि निर्वाचन आयोगमा एकीकृत समाजवादीमा रहनेगरि सनाखत गर्न गएको र अहिलेसम्म आयोगले निर्णय नदिएको पनि उनले बताएका छन् ।
त्यस्तै, नेकपा (एमाले) का नेता कर्ण थापाले लोकतन्त्र र जनमतको विरुद्धमा प्रतिक्रियावादीहरू एक ठाउँमा उभिएको बताए । आफ्नो पार्टीले १४ जना सांसदलाई कारबाही गर्न गरेको पत्राचारबारे सभामुख अग्नि सापकोटाले अलमल गरेको भन्दै उनले आपत्ति जनाएका छन् ।
साक्षात्कारमा काँग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री मीन विश्वकर्माले राजनीति दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनु गलत नभएको बताए । अहिले शेरबहादुर देउवाले संसद् पूनःस्थापना गरेर संसद्को अधिवेशन अन्त्य भएको बेलामा ल्याएको उनको भनाई छ । एमाले नेताहरूले काँग्रेसले आफ्नो पार्टी फुटाइदिएको भनेर लगाएको आरोपमा पनि कुनै सत्यता नभएको विश्वकर्माको टिप्पणी थियो ।
त्यस्तै, राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले आफ्नो पार्टी तत्काल सरकारमा नजाने स्पष्ट पारेका छन् ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार