तत्काल कुनै पार्टीसँग एकता गर्ने पक्षमा छैनौँ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिल्यै अन्य पार्टीसँग एकता हुने सम्भावना नभएको बताएका छन् ।

आइतबार संसदीय दलको नेता चयन गर्न बसेको बैठकलाई सम्बोधन गर्दै उनले भने‚ ‘हामी अहिले कसैसँग एकताको पक्षमा छैनौँ । हामी कसैसँग विलय हुँदैनौँ । हामी हाम्रो संगठनलाई तल्लो तहसम्म विस्तार गर्छौं । हामीले केन्द्रीयदेखि प्रदेश हुँदै स्थानीय तहसम्मको जनप्रतिनिधिको पद जोगाउँछौँ ।’

नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले इतिहासमा लाजमर्दो काम गरेको बताए । उनले नेकपा कालमा ओलीले जालझेल षड्यन्त्र गरेको स्मरण गर्दै पार्टीमा आफू कमजोर भएपछि सचिवालयका ३ नेतालाई एकैदिन सबैलाई पालैपालो आफूपछिको प्रधानमन्त्री बनाउने भनेर आश्वासन दिएर भ्रममा राख्न खोजेको उल्लेख गरे ।

उनले पार्टी एकता ओली प्रवृत्तिकै कारण असफल भएको आरोप लगाएका छन् । ‘हामी एकताको पक्षमा थियौँ। तर ओली प्रवृत्तिको कारणले विफल भयो‚’ उनले भने‚ ‘ओलीमा आफू प्रधानमन्त्री नहुने हो भने कुर्सी नै भाँचिदिने प्रवृत्ति रह्यो।’

ओली सामूहिकताको भावना हटिसकेको भएकाले म नै सर्वेसर्वा म नै पार्टी भन्ने अहमता बढेको टिप्पणी गरे । ओलीले पार्टीमा सबैलाई अपमान गरेको नेपालले दाबी गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार