माधव समूहले आजदेखी पार्टी पुनर्गठनको अभियान थाल्ने

देशैभर समान्तर कमिटी र कार्यलयमार्फत अध्यक्ष ओलीका कदमको प्रतिरोध गर्ने

नेकपा एमालेका नेता माधवकुमार नेपाल समूह आजदेखी पार्टी पुनर्गठनको प्रक्रिया थाल्ने तयारीमा छ । केहिदिन अघि वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गरेका अध्यक्ष केपी शर्मा ओलीले उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई पनि ६ महिना निलम्बन गरेपछि आजका लागि स्थायी कमिटी सदस्यहरुको बैठक बोलाएको छ ।

आजको बैठकले पार्टी पुनर्गठन अभियान घोषणा गर्ने तयारी भएको बुझिएको छ । २ जेठ २०७५ को पार्टी कमिटीहरु कायमै रहनुपर्ने माग गर्दै आएको नेपाल समूहले पछिल्ला दिनमा समानान्तर कमिटी निर्माणलाई नै पार्टी पुनर्गठन भन्दै आएको छ । बिहीबार मात्र माधव नेपाल र सुरेन्द्र पाण्डे पोखरा पुगेर गण्डकी प्रदेशस्तरीय समानान्तर कमिटी घोषणा गरेका छन् ।

प्रदेश सचिवालय देखि जिल्ला इन्चार्ज, अध्यक्ष र सचिव घोषणा गरेको यो समूहले अब अभियानकै घोषणा गर्ने भएको छ । ‘राष्ट्रिय कार्यकर्ता भेलाको निर्णयअनुसार, कमिटीहरु बनिरहेकै थियो । तर, त्यसलाई अभियान घोषणा गरेरै जाँदा सजिलो हुने भयो’, एक स्थायी कमिटी सदस्यले भने । कार्यकर्ता पंक्तिबाट आएको मागअनुसार,  अभियान घोषणा गरेर जान लागेको उनले बताए ।

यो समूहले गण्डकी बाहेक भोजपुर, खोटाङ, अर्घाखाँची लगायत जिल्लामा छुट्टै कमिटी घोषणा गरिसकेको छ । अखिल नेपाल महिला संघ, युवा संघ नेपाल र अनेरास्ववियुमा पनि समानान्तर कमिटी घोषणा गरेको छ । तर, कमिटी निर्माणलाई तीव्रता दिनुका साथै राजनीतिक प्रतिवेदन पनि लिएर जाने नेतारुको तयारी छ ।

४–५ चैतको राष्ट्रिय कार्यकर्ता भेला र १३–१४ चैतको केन्द्रीय कमिटी एवम् सांसदहरुको भेलामा प्रस्तुत दस्तावेजलाई थप संशोधन गर्ने र ओलीले सोधेको स्पष्टीकरणको जवाफ समेटेर दस्तावेज तयार पारिने बताइएको छ । सोही दस्तावेजका आधारमा देशभर समान्तर कमिटी र कार्यलयमार्फत पार्टी पुनर्गठनको अभियान शुरु हुने नेपाल निकट स्रोत बताउछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार