नेपाललाई रावलको जवाफ- अगाडि धकेल्दा धकेलिने भए पछाडि फर्काउन खोज्दा फर्किनुपर्ने हो

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई सामाजिक सन्जालबाट जवाफ फर्काएका छन् ।

लामो समयदेखि नेपाललाई सहयोग गरे पनि नयाँ पार्टी गठन गर्ने बेला रावलले उनको साथ छाडेका थिए । शनिबारको एक कार्यक्रममा अध्यक्ष नेपालले आफूलाई नयाँ पार्टी खोल्न दोस्रो तहका नेताहरुले दबाब दिएको तर अन्तिममा साथ छाडेको भन्ने अभिव्यक्ति दिएका थिए ।

नेपालको उक्त अभिव्यक्तिपछि उपाध्यक्ष रावलले आइतबार ट्वीट गर्दै जवाफ फर्काएका हुन् । उनले माधवकुमार नेपालको नाम नलिई कोही नेता कसैले अगाडि धकेल्दा धकेलिने भए पछाडि फर्काउन खोज्दा पनि फर्किनुपर्ने भनेका छन् ।

‘कोही नेता कसैले अगाडि धकेल्दा धकेलिने रहेछन् भने पछाडि फर्काउन खोज्दा पछाडि पनि फर्किनु पर्ने हो,’ रावलले भनेका छन्, ‘द्वन्द्वको स्थितिमा अलगिने मनस्थिति हुन्छ भने सहमति भइसकेपछि एक भई मेलमिलाप गर्ने कुरा मुख्य हुन्छ भन्ने सत्य बुझ्न धेरै अध्ययनको आवश्यकता हुन्न । जिम्मेवारीबोध महत्वपूर्ण कुरा हो ।’

शनिबार एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले दोस्रो पुस्ताकै नेताहरूका कारण आफूहरू व्रिदोह गर्ने तहसम्म पुगेको र दोस्रो पुस्ताकै नेताहरूले छिटो एमालेबाट अलग हुनुपर्ने भन्दै निर्वाचन आयोगमा नयाँ दल दर्ता गराएको दावी गरेका थिए ।

एमाले विवाद समाधान कार्यदलका संयोजक समेत रहेका राववले नेपाललाई जवाफ फर्काउँदै सहमति भइसकेपछि मेलमिलाप गर्ने कुरा मुख्य हुन्छ भन्ने धेरै अध्ययनको आवश्यकता नपर्ने समेत टिप्पणी गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार