भोजपुरको उत्तरी षडानन्द नगरपालिका ९ किमालुङको तालखर्कमा एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेका छन् । स्थानीय ४० वर्षीय बुद्धिमान राईले २८ वर्षीया श्रीमती ईन्द्रकला राईको धारिलो हतियारले हत्या गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
शुक्रबार राती १० बजेतिर घरायसी विवादमा राईले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको र घरदेखि करिब ४० मिटर तलको दुधेलोको रुखमा आफू पनि झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी राजकुमार राईले जानकारी दिए ।
आमालाइ खुकुरी प्रहार गरेको देखेपछि ८ वर्षीय छोराले स्थानीयलाई खबर गरेका थिए ।
घटनाको जानकारी पाउन साथ घटना स्थलमा पुग्दा इन्द्रकलाको मृत्यु भइ सकेको र बुद्धिमानको खोजी गर्दा झुन्डिएको अवस्थामा फेला परेको स्थानियले जनाएका छन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको डिएसपी राईले बताए । मृतकका ८ वर्षीय छोरा र एक छोरी छन् ।