सुदूरपश्चिमकी प्रमुख सचेतक दुर्गाकुमारी विकले छाडिन् एमाले

 नेकपा (एमाले) सुदूरपश्चिमकी प्रमुख सचेतक दुर्गाकुमारी विकले एमाले छाडेकी छन्। विकले एमाले छाडेर आफू माधव नेपालको नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा लागेको बताएकी छन्। उनी यसअघि कुनै पक्षमा नलागेर तटस्थ रहेकी थिइन्। बिक एमालेका उपाध्यक्ष भीम रावलको गृह जिल्ला अछामबाट समानुपातिक सांसद हुन् । एमाले जिल्ला कमिटी सदस्यसमेत रहेकी बिकले विगतमा नेता रावलकै कारण नेपाललाई साथ दिंदै आएकोमा अहिले उनले आफूहरुको साथ छाडेको बताइन् ।

विकले एमाले विभाजनका बेला सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिएका १७ जनामध्ये कम्तीमा पनि १३ जना प्रदेशसभा सदस्य एकीकृत समाजवादीतिर लाग्ने दाबी गरेकी छन्। तर हालसम्म विकसहित प्रदेशकी आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी, पूर्वउद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट र प्रदेशसभा सदस्य अमरबहादुर साउँद मात्र एकीकृत समाजवादी पार्टीतिर खुलेका छन्।प्रदेशमा उनीहरु नेता भीम रावल पक्षधर मानिन्छन्।

आर्थिक मामिलामन्त्री प्रकाशबहादुर शाहले भने विभाजनलाई साथ दिन नसकिने बताएका छन्। उनी एमालेको केन्द्रीय कमिटीको बैठकमा सहभागी भएका छन् २ भदौमा नेकपा एमालेबाट अलग भएर माधवकुमार नेपालले गठन गरेको एकीकृत समाजवादीले बुधबार वैधानिकता पाएको थियो ।  एमाले केन्द्रमा विभाजन भए पनि प्रदेशमा औपचारिक रूपमा विभाजन हुन बाँकी छ । दल विभाजनसम्बन्धी अध्यादेशले दल दर्ता भएको दिनदेखि २१ दिनभित्र प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्न पाउने अधिकार दिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार