स्टार फुटबलर क्रिष्टियानो रोनाल्डो म्यानचेष्टर युनाइटेड फर्किने भएका छन् । हाल युभेन्टसमा रहेका उनी इंग्लिस क्लब युनाइटेडमा फर्किन सहमत भएका हुन् । पोर्चुगिज फरवार्ड रोनाल्डोलाई अनुबन्ध गर्नका लागि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र इटालियन क्लब युभेन्टसबीच सहमति भएको छ ।
म्यानचेस्टर युनाइटेडले आफ्नो वेबसाइटमार्फत दुई क्लबबीच पूर्व खेलाडी रोनाल्डोको ट्रान्सफरलाई लिएर सहमति भएको जनाएको छ । अब रोनाल्डोसँग व्यक्तिगत सम्झौता, स्वास्थ्य परिक्षण र भिसा प्रक्रियापछि रोनाल्डो औपचारिक रुपमा युनाइटेडमा अनुबन्धित हुनेछन् ।
युभेन्टसले तीन वर्षअघि रोनाल्डोलाई अनुबन्ध गरेको थियो । रोनाल्डोले यसअघि म्यानचेस्टर युनाइटेडका लागि खेल्दै २ सय ९२ खेलमा १ सय १८ गोल गरेका थिए । उनी युनाइटेडबाट त्यस समयको विश्व कीर्तिमानी रकममा रियल म्याड्रिड पुगेका थिए ।