बागलुङको बडिगाड घटनामा संलग्न आठ जना पक्राउ

भरत सापकोटा, टिभी अन्नपूर्ण, बागलुङ । बागलुङको बडिगाड गाँउपालिकामा होली खेल्ने क्रममा दुई युवकको मृत्यु भएको घटनामा संलग्न भएको आशंकमा प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको छ । घटना भएको ४ दिनपछि ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

होली पर्व मनाउने क्रममा झडप हुँदा भीरबाट खसालेर दुई जनाको हत्या भएको र अनुसन्धानका लागि हालसम्म ८ जना पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए । नियन्त्रणमा लिइएकाहरुको पहिचान भने खुलाइएको छैन ।

अनुसन्धानलाई प्रभावित पर्ने भएकाले उनीहरुको नाम र ठेगाना सार्वजनिक नगरिएको प्रहरी नायब उपरीक्षक हवारीले केहिदिनमा पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरिने बताए । गत आइतबार होली खेल्ने क्रममा युवतीलाई जबरजस्ती रंग लगाइदिँदा भएको झडपमा निसिखोला गाउँपालिका–७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाइले ज्यान गुमाएका थिए ।

उनीहरुको शव घटनास्थल भन्दा करिब ५ सय मिटर तल जंगलमा फेला परेको थियो । घटनामा ज्यान गुमाएका दुई जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गरि परिवारको सहमतिमा बुधबारअन्तेष्टि गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार