पिङ हाल्ने ठाउँमा तितेपाती !

तारानाथ आचार्य/ बलेवा । दशैँ–तिहारमा खेलिने काठेपिङ र चमच्चा गाउँघरमा देखिन छाडेका छन् ।

पिङ बनाउने युवाको अभावमा दशैँमा खेलिने काठेपिङ र चमच्चा हराउँदै गएका हुन् । पहिले पहिले चमच्चाका लागि प्रयोग गरिने खिर्राेका रुख काटिएका छन् । पिङ बनाउने ठाउँमा कतै सार्वजनिक भवन, विद्यालय बने भने कतै कतै तितेपाती उम्रिएको छ ।

घर घरमा पुग्ने सडक बनेका कारण विगतमा जस्तो बाटोमा चहलपहल, पैदलयात्रीको ओहोरदोहोर छैन भने दशैँका बेला राखिने पिङ चमच्चा खेल्नेको भीड देखापर्न छाडेका छन् ।

गाउँघरमा वृद्धवृद्धा र बालबालिका मात्रै छन् उनीहरुले काठको प्रयोग गरेर चमच्चा बनाउन सक्दैनन् । काठ बोक्न सक्ने युवा कोही रोजगारीको सिलसिलामा विदेशमा छन् भने कोही देशकै ठूला शहर छिरेका छन् । दशैँको बेलामात्रै टीका थाप्न गाउँ आउने युवाले चमच्चा बनाउन समय पाउँदैनन् ।

“दशैँ शुरु हुनु अगाडिदेखि नै हाम्रो घर नजिकमा बनेको काठे चमच्चा र लिङ्गे पिङ खेल्न पालो कुर्नुपर्ने अवस्था हुन्थ्यो”, बागलुङको काठेखोला गाउँपालिका–२ का गोपाल विकले भन्नुभयो, “अहिलेत पिङ र चमच्चा बनाउने मैदान नै सुनसान रहेछ ।” दश वर्ष लामो वैदेशिक रोजगारीबाट फर्केका विकले दशैँको रौनक हराएको बताउनुभयो ।

पिङ हाल्न गाउँमा बाबियोसमेत पाइन छोडेको छ । दशैँका लागि पिङ हाल्नलाई बस्तुबाट जोगाएर बाबियो राख्ने गरिथ्यो स्थानीयवासी दिलबहादुर थापाले भन्नुभयोे, “चमच्चाका लागि दुई महीनादेखि तयारी गर्नुपथ्र्याे, अहिले हरायो । बाबियो बाटेर पिङ बनाउने र काठ काटेर चमच्चा बनाउने सीप नयाँ पुस्तामा छैन ।

गाउँमा बसोबास गर्ने अधिकांश मानिस शहर केन्द्रित हुँदा परम्परागत सीपसमेत नयाँ पुस्तामा हस्तान्तरण हुन नसकेको बागलुङ जैमिनी नगरपालिका–१ का कृष्ण शर्माले बताउनुभयो ।

शहर बजारमा पाइने यतारी पिङ बाह्रै महीना खेल्न पाइने भएका कारण नयाँ पुस्तामा पिङ र चमच्चाको मोह हराएको शर्माको अनुमान छ । “पहिले पहिले पिङ र चमच्चा खेल्न तँछाडमछाड हुन्थ्यो”, शर्माले भन्नुभयो, “अहिले न त पिङ र चमच्चा देख्न पाइन्छ न त भीडभाड नै हुन्छ ।”

Related posts

Leave a Comment