वीरगञ्जमा सर्वोत्तम स्टिल कम्पनीको भट्टीमा विस्फोट, सात जनाको अवस्था गम्भीर

पर्साको वीरगञ्जस्थित सर्वोत्तम स्टिल कम्पनीको भट्टीमा विस्फोट हुँदा १५ श्रमिक घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

तातो फलाम पगाल्ने क्रममा भट्टीमा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय पर्साका सञ्चार कक्षका हवल्दार गंगाराम रायले जानकारी दिए ।

उनका अनुसार घाइतेमध्ये अधिकांश भारतीय कामदार छन् । घाइते हुनेमा भारत बिहार घर भएका ५२ वर्षीय विनोद पाण्डे, युपी लखनउका ५२ वर्षीय सन्तोष कुशवाहा, २० वर्षीय सुशील कुमार, ३७ वर्षीय मानसिया, ३० वर्षीय रा पुकार यादव, बारा छातापिपरा बस्ने २२ वर्षीय टिंकु दास छन् । उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

यस्तै भारत खुशीनगरका ३५ वर्षीय धिरु सहनी, ठेगाना नखुलेका २६ वर्षीय चिंकु दास, भारत युपी लखनउका १८ वर्षीय अमरनाथ सहनी, भारत बिहारका २१ वर्षीय दिपक कुमार र भारत दरभंगा बस्ने १८ वर्षीय रविंकु दासको अवस्था भने सामान्य रहेको प्रहरीको भनाइ छ ।

उनीहरूको वीरगञ्जस्थित नारायणी बयोधा अस्पतालमा उपचार भइरहेको हवल्दार रायले बताए । प्रहरीका अनुसार कम्पनीको फलाम पगाल्ने भट्टी पड्किँदा तरल पदार्थ उछिट्टिएर लाग्दा श्रमिकहरु घाइते भएका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार