प्रदेश १ मा एमाले संसदीय दलको बैठक बस्दै, मुख्यमन्त्री फेर्न तयारी

नेकपा (एमाले) प्रदेश १ संसदीय दलले आज बस्दै छ । पार्टी विभाजनपछि पहिलो पटक आज बैठक बोलाइएको हो । प्रदेश १ मा केपी ओली पक्षमा रहेका मुख्यमन्त्री शेरधन राई अल्पमतमा पर्ने स्थिति आएपछि एमालेले संसदीय दलको बैठक बोलाएको हो ।

बिहीबार बिहान ९ बजे बोलाइएको बैठकमा मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राईलाई राजीनामा गराउने तयारी रहेको स्रोतको भनाइ छ । बैठकले तेस्रो धारबाट एमालेमा विलय भएका भीम आचार्यलाई संसदीय दलको नेता तथा मुख्यमन्त्री बनाउने तयारी गरेको छ ।

एमालेका एक सांसदका अनुसार आचार्यलाई बिहीबार नै मुख्यमन्त्री शपथग्रहण गराउने सम्भावना छ । वागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई गरेजस्तै प्रक्रिया पुर्याएर आचार्यलाई प्रदेश १ को मुख्यमन्त्री बनाउने एमालेले तयारी गरेको एक नेताले बताए ।

मुख्यमन्त्री नियुक्त भइसकेपछि आचार्यले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । प्रदेशसभाको अंक गणित हेर्दा एमालेका चारजना सांसद मात्रै माधव नेपालको पक्षमा लागे भने आचार्यले बहुमत पाउने अवस्था छैन । माधव नेपाल पक्षले त्यहाँ ९ जना सांसदहरु आफ्नो पक्षमा रहेको बताउँदै आएको छ ।

९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा हाल ९२ जना सांसद छन् । प्रदेश १ मा नेकपा एमालेका ५१ सदस्य छन् । जसमध्ये एक जना सभामुख छन् । अर्का एक सांसद गुलेफुन खातुन फौजदारी मुद्दामा दोषी देखिएकाले फरार छिन् । प्रदेशमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चको १/१ जना सांसद छन् । प्रदेशमा बहुमतका लागि ४७ मत आवश्यक पर्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार