पतञ्जलि आयुर्वेद मेडिकल कलेजका विद्यार्थी अन्योलमा

काभ्रेको धुलिखेल नगरपालिका–३ स्थित पतञ्जलि आयुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टरका सञ्चालक र व्यवस्थापन पक्षले पठनपाठन बन्द गरेपछि विद्यार्थीले तत्काल पठनपाठन सुचारु गर्न माग गरेका छन् । साउन १ गतेदेखि बिना कारण बन्द भएको कलेज अहिलेसम्म पनि सञ्चालन नभएपछि आफूहरुको भविष्य अन्योलमा पर्ने अवस्था सिर्जना भएको भन्दै छिट्टै पठनपाठन गर्न माग गरेका हुन् । कलेजका चौंथो वर्षका विद्यार्थी रुपेश ठाकुरले कलेजले आफ्नो व्यवस्थापकीय पाटोमा पूर्वाधार पूरा नगरेको भन्दैमा आफूहरुको भविष्यमाथि कलेजले खेलवाड गर्न नमिल्ने बताए ।

कलेज खोलेको पाँच वर्ष भइसक्दासमेत कलेजको आफ्नै अस्पताल नभएका कारण पनि अहिले त्यहाँ अध्ययनरत विद्यार्थी ईन्टरनसिपको लागि बाहिर कलेजतिर जानुपर्ने बाध्यता रहेको उनको भनाइ छ । चिकित्सा शिक्षा आयोगले पूर्वाधार नपुगेको भन्दै यस वर्षको लागि पाउने सिट ४० वटा उपलब्ध नगराएको निहुँमा अध्ययनरत विद्यार्थीलाई पनि दुःख दिएर ४२ दिनसम्म कलेज बन्द गरेर राखेको ठाकुरले बताए ।

सोही कलेजमा ब्याचलर अफ आयुर्वेदिक मेडिसिन एण्ड सर्जरी दोस्रो वर्षमा अध्ययनरत रिमा वञ्जाराले नियमित हुँदै आएको पाठनपाठन कलेजले बन्द गरेपछि आफूहरु समस्यामा परेको बताए । दुई वर्षअघि सो कलेजमा भर्ना भएर अध्ययनरत रहेका उनले सुरुमा एक महिना राम्रोसँग पढाइ भएको र त्यसपछि बीचमा नयाँ शिक्षक ल्याउने पढाउने गरी जसोतसो चल्दै आएकोमा अहिले आएर पूर्ण रुपमा बन्द गरेपछि आफूहरुको लगानी र समय वर्वाद हुने अवस्थामा पुगेको गुनासो गरे ।

कलेजका अर्का विद्यार्थी तेस्रो वर्षमा अध्ययनरत कृष्ण यादवले विगत साउन १ गतेदेखि पूर्ण रुपमा अनलाइन कक्षा बन्द गरेका कारण आफूहरुको पढाइ बिग्रेको बताए । “अहिलेसम्ममा करिब डेढमहिना हुन लागिसक्यो, पठनपाठन ठप्प छ, हामीले बारम्बार आग्रह गर्दा पनि हाम्रो आवाजको कुनै पनि सुनुवाइ भएको छैन ।”

उनले भने,“हामीले शुल्क नतिरेको भन्ने बहानामा पूरै कलेज बन्द गरेर कलेज सञ्चालक, व्यवस्थापक र प्रशासनले के गर्न खोजेको हो ?” यदि त्यस्तै हो भनेपनि पहिला शुल्क तिर्ने वातावरण बनाइदिनु प¥यो, तर मुख्य कुरा त बन्द गर्नुको त्यो कारण नै नभएको उनको भनाइ छ ।

आयोगले यसपालीको लागि नयाँ भर्ना गर्न सिट नदिएको कारण चिकित्सा शिक्षा आयोगलाई दबाब दिनको निम्ति कलेज बन्द गरेको विद्यार्थीको भनाइ छ । पटकपटक आफूहरुको कक्षा सञ्चालन गर्नुप¥यो भन्दा पनि कुनै सुनुवाइ नभएका कारण प्रशासक र प्रिन्सिपललाई सोध्दा आफुसँग कुनै अधिकार नभएकोले ट्रष्टिले जे भन्छन् त्यही अनुसार हुने प्रतिक्रिया दिएको विद्यार्थीहरुले बताएका छन् ।

पाठ्यक्रम अनुसारका शैक्षिक गतिविधि सञ्चालन गर्नु/गराउनु र कलेजमा भर्ना भएका विद्यार्थीलाई गुणस्तरीय चिकित्सा शिक्षा प्रदान गर्नु/गराउनु कलेज तथा चिकित्सा शिक्षा आयोग, आयुर्वेद चिकित्सा परिषद्–नेपाल तथा सम्बन्धित नेपाल संस्कृत विश्वविद्यालयलगायतका नियमनकारी निकायको अनिवार्य दायित्व भए पनि नियमित पठनपाठनका लागि प्रिन्सिपलदेखि नेपाल पतञ्जलि योगपीठका ट्रष्टिसम्म कुरा राख्दा कुनै सुनुवाइ नै नभएको विद्यार्थीको गुनासो छ ।

सो कलेजका धुलिखेलका प्रिन्सिपल डा चन्द्रकिशोर यादवले भने कलेजको पठनपाठन बन्द भएको विषयमा आफूलाई जानकारी नभएकोले माथिल्लो निकायसँग सोध्नुपर्ने प्रतिक्रिया दिए । “यस विषयमा मलाई केही पनि थाहा छैन, माथि नेपाल पतञ्जलि योगपीठका ट्रष्टिलाई नै सोध्नुपर्छ”, उनले भने । नेपाल पतञ्जलि योगपीठका ट्रष्टि सालिग्राम सिं भने पटकपटक फोन गर्दा पनि सम्पर्कमा आउन चाहेनन् । सो कलेजमा अहिलेसम्ममा प्रथम, दोस्रो, तेस्रो र चौंथो वर्षका गरी कुल १११ विद्यार्थी अध्ययनरत रहेको विद्यार्थीले बताएका छन् ।

यसअघि भौतिक रुपमा सञ्चालन हुँदै आएको पठनपाठनको बेलामा पनि समस्या भएको तर यस्तै गरेर लामोसमयसम्म बन्द नभएको विद्यार्थी बताउँछन् । “नत शुल्क बुझाउन भनेर सूचना निकाल्छ, नत कलेज नै सञ्चालन हुन्छ”, विद्यार्थीहरु भन्छन्, “एक महिनासम्म बन्द गर्दा पनि आफूहरुले केही नभनेकोमा झन् बन्द लम्ब्याउँदै गएर भदौ १ गते कलेजको केन्द्रीय कार्यालय नेपाल पतञ्जलिी योग पीठ मण्डिखाटारमा बुझ्न जाँदा प्रहरी प्रशासन लगाएर पक्राउ गरियो ।” अहिले धुलिखेलस्थित कलेज प्रवेशद्वारमा विद्यार्थीले दैनिक रुपमा अनलाइन कक्षा सुचारु गर, भौतिक पूर्वाधार पूरा गर, सक्षम चिकित्सक बन्न पाउँ र हाम्रो भविष्यसँग खेलवाड गर्न पाइदैनलगायतका प्लेकार्ड बोकेर आन्दोलन गर्दै आएका छन् ।

कलेजले यही भदौ १७ गतेदेखि प्रथम, दोस्रो र तेस्रो सेमेष्टरको मौखिक परीक्षा गर्ने तालिका भए पनि अझैसम्म कुनै जानकारी र पठनपाठन नभएको गुनासो गरेका छन् । विद्यार्थीले चौंथो वर्षसम्म अध्ययन गरेबापत १६ लाख रकम बुझाउनुपर्छ । कोरोनाको कारण अनलाइन मात्रै पठनपाठन हुँदा पनि पूरै शुल्क तिर्नुपर्ने अवस्था रहेको विद्यार्थीको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार