निषेधाज्ञामा कडाइ गरेपछि बागलुङमा घट्न थाल्यो कोरोना सङ्क्रमण

निषेधाज्ञामा कडाइ थालेपछि बागलुङमा कोरोना सङ्क्रमणदर घट्न थालेको छ । एक महिना पहिला ८०० जना सक्रिय सङ्क्रमित रहेको बागलुङमा पछिल्लो तथ्याङ्कअनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ३८८ मा झरेको छ ।

जिल्लामा सोमबार जम्मा आठ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ भने ४५ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । एन्टिजेन परीक्षणका क्रममा सोमबार बरेङ गाउँपालिकाका २ र गल्कोट नगरपालिकाका ६ मा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । ‘‘लक्षण देखिएका बिरामीको निरन्तर जाँच भइरहेको छ, सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या घटेको पाएका छौँ’’, कार्यालयका कोभिड स्रोत व्यक्ति देवप्रकाश घिमिरेले भने, ‘‘गत भदौ १० पछि निषेधाज्ञा खुकुलो गर्न दबाब छ, खुकुलो हुँदा जोखिम बढ्न सक्छ ।’’

कोरोना सङ्क्रमणका कारण जिल्लामा हालसम्म ६४ ले ज्यान गुमाएका छन् । सोमबार राति बागलुङ नगरपालिका–१२ अमलाचौरका ७२ वर्षीय पुरुषको मृत्यु भएको थियो । उनको उपचारका क्रममा धौलागिरि अस्पतालमा मृत्यु भएको हो ।

‘‘दोस्रो लहर चल्ने बेला जस्तो अक्सिजनको कमी हुने सङ्क्रमितको सङ्ख्या घट्न थालेको छ, अस्पतालमा गम्भीर समस्या लिएर आउने कम छन्’’, उनले भने, ‘‘भेला, सभामा सहभागी हुनेमा बढी सङ्क्रमण देखिन्छ, सजगता अपनाउँदा सङ्क्रमण कम हुन्छ ।’’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार