कांग्रेस जिल्ला सभापतिहरूले पार्टी कार्यालय सानेपामा धर्ना दिँदै

नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गर्न माग गरेका छन् ।

सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच छलफल गरेर सोमबार बेलुकी करिब १० बजे मात्रै क्रियाशील सदस्यतासम्बन्धी विवाद हल गरिएको थियो ।

पूर्वमहामन्त्री सिटौलाले सभापति देउवा र वरिष्ठ नेता पौडेललाई क्रियाशीलबारेको प्रतिवेदन सोमबार बेलुकी नै हस्तान्तरण गरिसकेका छन् । अब क्रियाशील सदस्यताबारे कांग्रेसमा विवाद नरहेको दाबी उनीहरूको छ ।

तर उक्त प्रतिवेदन सार्वजनिक नगरेको भन्दै जिल्ला सभापतिहरूले पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिन लागेका हुन् । उनीहरुले तत्काल नामावली पार्टीको वेबसाइटमा राख्न माग गरेका छन् ।

जिल्लाहरुले सिफारिस गरेको भन्दा फरक नामावली र संख्या स्वीकृत गरिएको उनीहरुले आशंका गरेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट सभापतिहरूले पार्टी कार्यालयमा धर्ना दिन लागेका हुन् ।

आज बिहान ११ बजेदेखि १ घण्टा सांकेतिक रुपमा धर्ना दिने र त्यति गर्दा पनि नसुने थप सशक्त रुपमा उत्रिने तयारी जिल्ला सभापतिहरुको छ ।

नेपाली कांग्रेसमा वडादेखि जिल्लासम्म चार तहबाट सिफारिस भएर आएकालाई मात्रै क्रियाशील सदस्यता दिन सकिने वैधानिक व्यवस्था छ ।

यस्तै जिल्ला सभापतिहरूले जिल्ला सभापतिहरुको निर्वाचन प्रक्रियामा एकरूपता ल्याउने गरी निर्वाचन निर्देशिका संशोधन गर्न पनि माग गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार