म्याग्दीको राहुघाट र बगरखोलामा मोटर चल्ने बेलीब्रिज निर्माण

म्याग्दीको रघुगङ्गा गाउँपालिकास्थित राहुघाट र बगरखोलामा मोटर चल्ने दुईवटा पुल (बेलीब्रिज) निर्माण भएको छ । राहुघाट नदीमा एकैसाथ ८३.५ मेगावाट क्षमताका दुई जलविद्युत् आयोजना निर्माण गरिरहेको तुदी पावर कम्पनीले बनाएको बेलीब्रिजबाट स्थानीयवासीलाई पनि सुविधा पुगेको छ ।

आयोजनाका इञ्जीनियर नरोत्तम कार्कीले रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको बगरखोलामा ३० मिटर लामो, वडा नं ४ र ५ को सिमानास्थित राहुघाट नदीमाथि ६९ मिटर लामो बेलीब्रिज निर्माण भएको जानकारी दिए ।

३५ मेगावाट क्षमताको राहुघाट मङ्गले जलविद्युत् आयोजना निर्माणस्थल जोड्ने सडकअन्तर्गत बगरखोलामा बनेको पुलले चिमखोला र कुइनेमङ्गलेका दुईवटा वडालाई सिधा सडक यातायात सञ्जालसँग जोडेको छ । कुइनेमङ्गलेका वडाध्यक्ष गमान छन्त्यालले बगरखोलामा बेलीब्रिज बनेपछि बाहै्र महिना गाडी चल्न थालेका बताए । दग्नामको अजिङ्गर भिरबाट बन्दीसम्म सात किलोमिटर पहुँचमार्ग खनेको यस आयोजनाले घ्याँसीखर्कमा अर्को बेलीब्रिज बनाउने तयारी गरेको जनाएको छ ।

राहुघाट नदीमा निर्माण भएको बेलीब्रिजले ४८.५ मेगावाट क्षमताको माथिल्लो राहुघाट जलविद्युत् आयोजनाको पहुँचमार्ग सडक सञ्जालमा जोडेको छ । विद्युत्गृह र निर्माणस्थल पुग्ने २०० मिटर सडक निर्माण बाँकी छ । विस्फोटक पदार्थको प्रयोग गरेर सुरुङ निर्माण थालिएको छ ।

बन्दीमा बाँध निर्माणाधीन रहेको राहुघाट–मङ्गले जलविद्युत् आयोजनाको दुईवटा अडिटबाट ४०० मिटर सुरुङ निर्माण सकिएको छ । चिमखोलाको मलाङमा विद्युत्गृह रहने मङ्गले राहुघाटको सुरुङ पाँच किलोमिटर छ । कम्पनीका प्रतिनिधि उपेन्द्र गौतमले गत मङ्सिरदेखि सुरुङ खन्न थालिएको आयोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको बताए ।

कूल लागत पाँच अर्ब ९२ करोड लागत अनुमान गरिएको मङ्गले–राहुघाटको आउटलेटबाट १५० मिटर तल पानी विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिनेछ । मलाङमा विद्युत्गृह निर्माण गर्न जग्गा व्यवस्थापन गरिएको छ । आयोजना निर्माणमा आवश्यक विस्फोटक पदार्थको भण्डारण र सुरक्षाका लागि रघुगङ्गा–७ चिमखोलामा नेपाली सेनाको क्याम्प स्थापना भएको छ ।

अपर राहुघाटको विद्युत्गृहबाट निस्कने र बगरखोलाको पानी मिसाएर मलाङमै बाँध र राहुघाट जलविद्युत् आयोजनाको बाँधबाट ५०० मिटर माथि विद्युत्गृह बनाउने गरी अर्को माथिल्लो राहुघाट जलविद्युत् आयोजनाको पनि प्रारम्भिक चरणको काम सुरु भएको छ ।

कुइनेमङ्गलेमा राहुघाट नदीको सहायक ठूलोखोलामा २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना निर्माणका लागि संयुक्त ऊर्जा प्रालिले अनुमति लिएको छ । ठूलोखोलाको पनि बाँध निर्माणस्थलसम्म पहुँचमार्ग निर्माण भइसकेको छ । राहुघाट नदीमै नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । राहुघाटको ३० प्रतिशत पूर्वाधार निर्माण सकिएको छ ।

मङ्गले र अपर (माथिल्लो) राहुघाट जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय ग्रिडमा जोड्न दुवै आयोजनाको प्रवद्र्धक तुँदी पावर कम्पनीले चिमखोलाबाट राहुघाट सबस्टेशनसम्म १३ किलोमिटर दूरीको डबल सर्किटको प्रसारण लाइन निर्माणको तयारी भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार