१० बुँदे सहमतिअनुसार कार्यतालिका बनाउन एमालेको स्थायी कमिटीे बैठक बस्दै

ओलीको जालझेलमा नपरी पार्टी पुनर्गठनमा लाग्न माधव नेपालको आग्रह

नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बस्ने एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनले पार्टीलाई थप एकताबद्ध रुपमा अघि बढाउन बैठकमा तेश्रो धारका नेताहरु पनि सहभागी हुने जानकारी दिए । माधव नेपाल पक्षले अर्कै पार्टी दर्ता गर्ने प्रक्रियामा रहेकाले अब अन्य नेताहरुलाई एमालेमा नै आउन आह्वान गरिएको उनको भनाई छ । स्थायी कमिटीले दल दर्ता रोक्दै एकताका लागि आह्वान समेत गर्ने प्रवक्ता ज्ञवालीले बताए ।

आज बस्ने बैठकले १० बुँदे सहमतिअनुसार एमालेलाई २०७५ जेठ २ गते अगाडिको अवस्थामा फर्काउने कार्यतालिका बनाउने नेताहरुको भनाइ छ ।

ओली र नेपाल पक्षका ५/५ जना नेताहरु सम्मिलित कार्यदलले पार्टीको आन्तरिक एकताका लागि २७ असारमा १० बुँदे सहमति तयार पारेको थियो । तर उक्त सहमति कार्यान्वयन नहुँदै नेता नेपालले आफ्नो अध्यक्षतामा नेकपा एकीकृत समाजवादी नामको नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

यसैबिच प्रस्तावित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी ओलीको भ्रममा नपरी पार्टी पुनर्गठनको पक्षमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

सोमबार चन्द्रागिरि रिसोर्ट आफू निकटका नेताहरूसँग छलफलमा व्यस्त नेता नेपालले आग्रह गरेका हुन । सोमबार दिउँसो ओली निवास बालकोट पुगेर एमालेमै समाहित हुने निष्कर्षमा पुगेका आफू निकटका नेताहरूलाई इङ्गित गदै नेपालले वार्ता र सहमतिका नाममा भएका छलकपटपूर्ण कार्यबाट भ्रमित नहुन समेत सुझाव दिएका हुन् ।

नेपालले आफूहरूको दल दर्ता रोक्नका लागि ओलीसँगै कार्यदलका सदस्यहरू पनि लागि परेको बताए । उनले यदि पार्टी एकता गर्ने ओलीको इमान्दार चाहना हो भने नेकपा एकीकृत समाजवादी दर्ता भएको भोलिपल्ट वार्ता गर्नुपर्ने अडान आफू निकटका नेताहरूलाई सुनाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार