लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले पाए विश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलबहादुर केसीले विश्वासको मत पाएका छन् ।  लुम्बिनी प्रदेश सभामा सोमबार भएको मतदानमा केसीको पक्षमा ४२ मत परेको छ । विपक्षमा कसैले पनि मतदान गरेनन् भने एकजना सांसद तटस्थ रहेका थिए । लुम्बिनी प्रदेश सभा हाल ८० सदस्यीय रहेको छ । केसीको पक्षमा नेपाली काँग्रेसका १९, माओवादीका १९, जसपाका ३, जनमोर्चाका १ सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका थिए । मतदानमा सभामुखबाहेक ४३ सांसदको उपस्थिति थियो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने बैठक बहिष्कार गरेको छ । लुम्बिनी प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तिले केसीको पक्षमा परेको ४२ मत प्रदेशसभाको बहुमत रहेकाले विश्वासको मत प्राप्त गरेको घोषणा गरे ।
एमाले संसदीय दलका नेता शङ्कर पोखरेल नेतृत्वको सरकार अल्पमतमा परेर राजीनामा दिएसँगै केसीको नेतृत्वमा गठबन्धन सरकार बनेको थियो । मुख्यमन्त्री केसीले नेकपा माओवादी, नेपाली काँग्रेस, जसपा नेपाल र राष्ट्रिय जनमोर्चाको समर्थनमा सरकारको नेतृत्व गरेका हुन् ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार