लागूऔषध राखेर पत्रकारलाई फसाउन खोज्ने प्रहरी निलम्बित, अन्य दुई जना पक्राउ

पत्रकारको मोटरसाइकलमा लागूऔषध राखेर फसाउन खोज्ने दुई घुमुवा प्रहरीलाई निलम्बन गरिएको छ । प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज साहलाई निलम्बन गरी घटनाको अनुसन्धान थालिएको हो । उनीहरु हाल प्रहरीको निगरानीमा छन् ।

प्रहरीका काम कारबाहीमाथि प्रश्न उठाउँदै सामाजिक सञ्जालमा लेखेका कारण रौटहट एक्सप्रेसका सञ्चालक एवं पत्रकार मोजिबुल्लाहलाई फसाउने उद्देश्यले उनले प्रयो गर्ने मोटरसाइकलमा लागुऔषध राखिएको प्रहरीले जनाएको छ ।

साउन ३२ गते जिल्ला प्रहरी कार्यालय रौतहट अन्तर्गत खटिएका दुई घुमुवा प्रहरीको योजनामा मोहम्मद र शेख अतिउल्लाह सवार बिआर ३० एस–१८८७ नम्बरको मोटरसाइकलमा लागूऔषध नाइट्रोभेटका १५० ट्याबलेट राखिएको थियो ।

यादव र साहको योजनामा धिरज यादव र जितकुमार यादवले मोटरसाइकलमा लागूपदार्थ राखेको भेटिएपछि दुवै जनालाई आपराधिक षड्यन्त्र गरेको कसुरमा जिल्ला अदालत रौतहटबाट ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको रौतहट प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता बसन्त कुँवरले सादा पोसाकका दुई प्रहरी घटनामा संलग्न रहेको देखिएकोले कानुन अनुसार कारबाही प्रक्रिया अघि बढिसकेको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार