नेकपा एमालेले दल दर्ता रोक्दै एकताका लागि माधव नेपाल पक्षलाई आह्वान गर्ने

नेकपा एमालेले माधव नेपाल पक्षलाई दल दर्ता रोक्दै एकताका लागि आह्वान गर्ने भएको छ । माधव नेपाल पक्षको अर्कै पार्टी दर्ता गर्ने प्रक्रियामा रहेकाले अन्य नेताहरूलाई दल   दर्ता रोक्दै एमालेमा नै आउन आह्वान गरिने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।
सोमबार एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा बसेको एमालेका नेता र तेस्रो धारमा उभिएका नेताहरूबिचको छलफलमा स्थायी कमिटी बैठक बोलाउने र दल दर्ता रोक्दै एकताका लागि आह्वान गर्ने निर्णय भएको छ ।
यस्तै प्रवक्ता ज्ञवालीले पार्टी एकताका लागि गरिएको १० बुँदे कार्यान्वयन गर्ने सहमति भएको बताएका छन् । १० बुँदे सहमति कार्यान्वयनलाई अघि बढाउने निर्णय बैठकले गरेको र यस विषयमा थप छलफल गर्न मंगलबार ११ बजे स्थायी कमिटी बैठक बोलाउने निर्णय भएको प्रवक्ता ज्ञवालीले जानकारी दिए।
बैठकमा अध्यक्ष ओलीले मुलुकको राष्ट्रिय राजनीतिमा उत्पन्न जटिलता, संविधानको अपव्याख्या गर्दै मुलुकलाई पश्चगमनतर्फ लैजाने षडयन्त्र भइरहेको बताएका थिए । मुलुकलाई पश्चगमनबाट जोगाउनका लागि पनि एमाले एकताबद्ध हुनुपर्नेमा ओलीको जोड रहेको थियो । एमाले उपाध्यक्ष भीम रावल, उप महासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे लगायतका नेताहरू ओलीसँग छलफल गर्न बालकोट पुगेका थिए ।
यसअघि एमालेबाट विभाजित भएको नेपाल समूहले नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताको निवेदन दिएको छ।  यस्तै निर्वाचन आयोगले दलका नेताहरूको सनाखतका लागि भदौ ९ गतेको लागि आयोगमा बोलाएको छ ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार