बालकोट वार्ता : १० बुँदे कार्यान्वयन गर्ने सहमति, स्थायी कमिटी बैठक बोलाउने निर्णय

नेकपा एमालेले पार्टी एकताका लागि गरिएको १० बुँदे सहमति कार्यान्वयन गर्ने विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा बसेको एमालेका नेता र तेस्रो धारमा उभिएका नेताहरूबिचको छलफलमा १० बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति गर्दै स्थायी कमिटी बैठक बोलाउने निर्णय भएको हो ।
१० बुँदे सहमति कार्यान्वयनलाई अघि बढाउने निर्णय बैठकले गरेको र यस विषयमा थप छलफल गर्न मंगलबार ११ बजे स्थायी कमिटी बैठक बोलाउने निर्णय भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । उनले पार्टीलाई थप एकताबद्ध रूपमा अघि बढाउन स्थायी कमिटी बैठकमा तेस्रो धारका नेताहरू पनि सहभागी हुने जानकारी दिए ।
माधव नेपाल पक्षको अर्कै पार्टी दर्ता गर्ने प्रक्रियामा रहेकाले अव अन्य नेताहरूलाई एमालेमा नै आउन आह्वान गरिएको उनको भनाई छ । स्थायी कमिटीले दल दर्ता रोक्दै एकताका लागि आह्वान समेत गर्ने प्रवक्ता ज्ञवालीले बताएका छन् ।
छलफलपछि एमाले एकताका लागि तेस्रो धारमा उभिएका नेता योगेश भट्टराईले पार्टीलाई समान व्यवहार गर्ने र पुरानै जिम्मेवारी दिने तथा १० बुँदे सहमति कार्यान्वयन गर्ने सहमति गर्दै पार्टीलाई एकताबद्ध गर्ने विषयमा सहमति भएको बताए । स्थायी कमिटी मार्फत नै १० बुँदे सहमति कार्यान्वयनको बाटो तयार गर्ने र केन्द्रीय कमिटी बोलाउने सहमति पनि भएको उनले बताए ।
बैठकमा अध्यक्ष ओलीले मुलुकको राष्ट्रिय राजनीतिमा उत्पन्न जटिलता, संविधानको अपव्याख्या गर्दै मुलुकलाई पश्चगमनतर्फ लैजाने षडयन्त्र भइरहेको बताएका छन् । मुलुकलाई पश्चगमनबाट जोगाउनका लागि पनि एमाले एकताबद्ध हुनुपर्नेमा ओलीको जोड रहेको थियो ।
एमाले उपाध्यक्ष भीम रावल, उप महासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे लगायतका नेताहरू ओलीसँग छलफल गर्न बालकोट पुगेका थिए ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार