ओली र एमाले सांसदहरूले सभामुखलाई धम्की दिएकोमा सत्तारुढ दलको आपत्ति

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमालेका सांसदहरूले सभामुख अग्निप्रसाद सापकोटालाई धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै सत्तारुढ गठबन्धनले आपत्ति जनाएको छ ।

नेपाली कांग्रेसका सचेतक पुष्पा भुसाल, माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, जसपाका प्रदीप यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल र नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले सोमबार संयुक्त वक्तव्य जारी गर्दै सभामुखविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका हुन् ।

‘नेपालको संवैधानिक व्यवस्थाअनुसार सभामुख पद व्यवस्थापिकाको प्रमुख हुनुका साथै सङ्घीय संसद्को संरक्षक पनि हो र सभामुख विरुद्धका धम्कीपूर्ण अभिव्यक्तिहरू वर्तमान संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणाली विरुद्ध हुन्,’ विज्ञप्तिमा भनिएको छ ।

एमालेले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त नगरेकोमा आक्रोशित ओलीले सभामुखलाई संसद चलाउन मन छ कि छैन ? भनेर प्रश्न गरेका थिए । यस्तै संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणालीविरूद्ध हुने गरी सभामुखलाई भदौ ३ र ४ मा एमाले सांसदहरूले संघीय संसद सचिवालय सिंहदरबारमा अभिव्यक्ति दिएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार