कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान समितिले आज प्रतिवेदन बुझाउने

नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान समितिले तयार पारेको प्रतिवेदन आज पार्टी सभापतिलाई बुझाउने भएको छ ।

सभापित शेरबहादुर देउवालाई दिउँसो प्रतिवेदन बुझाउने समितिको तयारी छ । हिजो नै प्रतिवेदन बुझाउने भनिए पनि केही विषय नमिलेकाले बुझाउन नसकेको समितिले जनाएको छ । क्रियाशील सदस्यताको विवाद टुंगो लगाउन गठित नेता कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित समितिले विवाद समाधान गरेको हो ।

पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार समितिले अपराह्न ५ बजेसम्ममा प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

गएको साउन ३० गते गठित समितिले भदौ पहिलो सातासम्म पनि प्रतिवेदन बुझाउन नसक्दा महाधिवेशन फेरी पनि तोकिएकै मितिमा हुनेमा आशंका व्यक्त गरिएको छ ।

बारा, सप्तरीलगायत ६ जिल्लाका १३ वटा निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यताको विवाद थियो । यसअघि रमेश लेखकको संयोजकत्वमा रहेको क्रियाशील सदस्यता विवाद समाधान समितिले देशभरका १५० भन्दा बढी वडामा देखिएको विवादमा १३औं महाधिवेशनको क्रियाशील सदस्यतालाई आधार मान्ने गरी मिलाएको थियो ।

तर बारा र सप्तरी लगायतका जिल्लामा देखिएको विवाद मिलाउन नेतात्रयलाई जिम्मा दिइएको थियो ।

कांग्रेसले यही भदौ १८ गतेदेखि वडा अधिवेशन शुरु गरी मंसिर ९ देखि १३ सम्म १४औं महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार