मध्यमार्गी नेताहरूलाई पनि पार्टीभित्र ल्याउन चाहँदैनन् ओली

एमालेभित्रको विवाद नमिलेपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नयाँ दल गठन गरेपछि अध्यक्ष केपी शर्मा ओलीले मध्यमार्गी नेताहरूलाई पनि पार्टीभित्र ल्याउने चाहेका छैनन् ।

नेपाल पक्षका रहेका तर पार्टी विभाजन गर्न नहुने नेताहरूलाई पार्टी अध्यक्ष ओलीले असार २७ गते गरेको १० बुँदे कार्यान्वयन नगर्ने भएपछि ल्याउन नचाहेका हुन् । ‘ओलीले अक्षरस १० बुँदे कार्यान्वयन गर्ने अवस्था देखिएन, पार्टी मिलाउने कुराका ओलीनै बाधक रहे,’ मध्यमार्गी एक नेताले भने ।

एमाले एकताको सम्भावना खोजी गरिरहेका एमाले उपाध्यक्ष रहेका भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवत्रय गोकर्ण विष्ट र योगेश भट्टराई तथा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्तलगायतका नेताले एमालेभित्र अझै पनि एकता हुन्छ भनिरहेका बेला ओलीले उनीहरूको माग र अडानमा खासै चासो दिएका छैनन् ।

नेपाल पक्षका रहेका तर विभाजनतिर नलागी १० बुँदे कार्यान्वयन गर्नुपर्छ भन्ने नेताहरूलाई ओलीले खासै चासो नदिएपछि उनीहरू नेपालतिरै लाग्ने सम्भावना बढेर गएको छ । पार्टी विभाजनतर्फ उन्मुख भए पनि नेपाल पक्षका नेताहरूले १० बुँदे कार्यान्वयन गर्न जोड दिएका हुन् ।

उनीहरू शुक्रबार राजधानीको एक पार्टी प्यालेसमा सांसद र केन्द्रीय समितिमा रहेका ५७ जना नेतासँग पनि थप छलफल गरेर ओलीलाई १० बुँदे सहमति अक्षरस पालना गर्न र नेपाललाई पार्टी दर्ता गर्नबाट पछि हट्न आग्रह गरेका थिए । ‘मंगलबारभित्र १० बुँदे सहमतिको अक्षरस पालना गर्न समयसीमा दिइएको हो, तर ओलीले विभाजनमै जोड दिएजस्तो लाग्छ । उनले सहमति गर्ने चासो दिएका छैनन्,’ मध्यमार्गीको भूमिका निर्वाह गरेका एक नेताले भने । यो समाचार आजको नागरिक दैनिकमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार