एमाले सांसदले लुम्बिनी प्रदेशसभा बैठक चल्न नदिने

नेकपा एमाले लुम्बिनीले प्रदेशसभाका सांसदहरू अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त नगरेसम्म संसद् चल्न नदिने जनाएको छ । एमालेले कारबाही गरेका दुई सांसद शाही र वलीलाई पदमुक्त गर्न सभामुखलाई पत्र बुझाएपनि पदमुक्त गर्न नमिल्ने बताएपछि एमालेले पदमुक्त नगरेसम्म संसद् चल्न नदिने जनाएको हो ।

आइतबार बुटवलमा पत्रकार सम्मेलन गर्दै एमाले लुम्बिनीले सभामुखले आफ्नो क्षेत्राधिकारभित्र नपर्ने विषयमा चासो दिएको समेत आरोप लगाएको छ । पत्रकार सम्मेलनमा एमाले लुम्बिनी प्रदेशका प्रमुख सचेतक भूमिश्वर ढकालले शाही र वलीलाई प्रदेश सभा सदस्यबाट निष्कासन नगर्दासम्म संसद् अवरुद्ध गर्ने आन्दोलन जारी रहेको बताए । उनले सभामुखको भूमिका पदीय आचरणभन्दा बाहिर गएर न्यायाधीश जसरी भूमिका निर्वाह गरेको आरोप लगाउनुभयो । शाही र घर्तीलाई पार्टीबाट निष्कासन गरेको जानकारी तथा सो कार्यान्वयनका लागि अनुरोध गरेर पत्र पठाइए पनि सभामुखले स्वेच्छाचारी निर्णय गरेको उनको आरोप छ ।

अव नैतिकताका आधारमा निज सभामुख पूर्णबहादुर घर्ती पदमा बसिरहन मिल्ने नदेखिएको एमालेले जनाएको छ । यसअघि लुम्बिनी प्रदेशसभा सचिवालयले एमालेले प्रदेश सभा नियमावली २०७४ को नियम १८८ अनुसार दलगत विवरण बुझाउँदा उनीहरूको नाम समावेश गरे पनि व्यक्तिगत विवरणमा एमालेको नाम उल्लेख नभएकाले पदमुक्त गर्न नमिलेको भनी एमालेलाई पत्र पठाएको थियो ।

 

Loading...