पति-पत्नीको झगडा मिलाउन गएका छिमेकीको हत्या

मोरङको मिक्लाजुङ गाउँपालिकामा पति–पत्नीबीचको झगडा मिलाउन खोज्दा छिमेकीको हत्या भएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार मिक्लाजुङ–६ का ३३ वर्षीय रविन तामाङ र उनकी पत्नी निरुताबीच झगडा भइरहेका बेला पुगेका मिक्लाजुङ–७ भण्डारी टोलका ४३ वर्षीय धनराज लिम्बूको हत्या भएको हो ।

गत बिहीबार राति ८.४० बजेतिर कुटपीटबाट गम्भीर घाइते भएका धनराजको विराटनगरको विराट नर्सिङ होममा उपचारका क्रममा शनिबार राति ११.४५ बजेतिर मृत्यु भएको डीएसपी श्रेष्ठले जानकारी दिएका छन् ।

पत्नीसँग झगडा परेपछि रविनले भाइहरू ३० वर्षीय आइतराज र २६ वर्षीय संजय तामाङलाई पनि बोलाएको प्रहरीले जनाएको छ । पारिवारिक झैझगडाका विषयमा छलफल भइरहेका बेला पत्नी निरुताका दाई भाग्य तामाङले थाहा पाएपछि मृतक धनराज र ५५ वर्षीय दुर्गाबहादुर कार्कीलाई लिएर बहिनी ज्वाइँकोमा पुगेका थिए ।

भाग्यले मासु पसल सञ्चालन गर्ने गरेको र त्यहीँ मासु किन्न दुर्गा र धनराज पुगेका थिए । रविनले जेठान भाग्यलाई फोन गरेर बोलाएको र बहिनीको झगडा मिलाउन जाउँ भन्दै भाग्यले उनीहरूलाई लिएर गएको खुलेको प्रहरीले जनाएको छ ।

डीएसपी श्रेष्ठका अनुसार झगडा नगरी मिलेर बस्न पति–पत्नीलाई सुझाव दिएका धनराज र दुर्गाबहादुरलाई पारिवारिक कुरामा बाहिरका व्यक्तिहरू प्रवेश गरेको भन्दै रविन र उनका दुई भाइहरुले दाउराले कुटपिट गरेर घाइते बनाएका थिए ।

आक्रमणमा परेर दुर्गाबहादुर पनि घाइते भएका थिए । तर उनी उपचारपछि घर फर्किसकेका छन् । रविन, आइतराज र सञ्जयलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको मोरङ प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार