एमालेलाई लुम्बिनी प्रदेशसभा सचिवालयको जवाफ : सांसद शाही र वलीलाई पदमुक्त गर्न मिल्दैन

लुम्बिनी प्रदेशसभा सचिवालयले नेकपा एमालेले दुई सांसदलाई गरेको कारबाही मान्य नहुने जनाएको छ ।

सांसदद्वय अजय शाही र विमला खत्री वलीमाथि एमालेले गरेको कारबाही प्रक्रिया कार्यान्वयन हुन नसक्ने ब्यहोराको पत्र प्रदेशसभा सचिवालयले एमालेलाई पठाएको छ ।

एमालेले ह्वीप उल्लंघन गरेको भन्दै सांसद शाही र वलीलाई दलबाट निष्कासनको कारबाही गरी पदमुक्त गर्न सभामुखसमक्ष पत्र दिएको थियो । तर सचिवालयले दुवै सांसदलाई पदमुक्त गर्ने आधार नभएको भन्दै पदमुक्तको सूचना जारी गर्न नमिल्ने पत्र पठाएको हो ।

प्रदेशसभा सचिवालयले एमालेलाई पठाएको पत्रमा प्रदेशसभा नियमावलीको अनुसूची ७ अनुसार दलले भर्ने फारममा सांसद विमला वली र सांसद अजय शाही दुवैको नाम दलका सदस्यका रुपमा समावेश गरेको भए पनि उनीहरुले भर्ने अनुसूची ६ अनुसारको व्यक्तिगत विवरण फारममा आफू एमालेको सदस्य नभएको ब्यहोरा भरेका कारण पदमुक्त गर्न नसकिएको प्रष्ट पारेको छ ।

शाही प्रदेशसभा निर्वाचन २०७४ मा स्वतन्त्र राजनीतिक समूहबाट सूर्य चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी भएका थिए । उनी हाल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धन सरकारमा सहभागी भएका छन् ।

त्यस्तै वली तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको दल नेकपा एमालेबाट सूर्य चुनाव चिह्न लिएर प्रदेशसभा उपनिर्वाचनमा विजयी भएकी थिइन् । र उनले नेकपा विभाजनपछि माओवादी केन्द्र रोजेकी थिइन् ।

आफूले पत्र पठाएर कारबाहीसम्बन्धी विवरण जानकारी गराए पनि उनीहरुलाई पदमुक्त गरेको सूचना प्रदेशसभा बैठकमा सभामुखले जानकारी नगराएको भन्दै एमालेले प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार