वामदेव गौतम एमालेमै रहेको स्पष्टीकरण

नेकपा एमालेका नेता वामदेव गौतमले आफू एमालेमा नै रहेको स्पष्ट पारेका छन्। एमाले उपाध्यक्ष गौतम नेकपा एकीकृत समाजवादीमा गइसकेको प्रचार गरेर चरित्र हत्या गर्न खोजिएको भन्दै सचिवालयले आइतबार बिहान सामाजिक सञ्जालमार्फत आपत्ति जनाएको छ । गौतमको सचिवालयले विभिन्‍न सञ्‍चारमाध्यम र सामाजिक सञ्जालमा भएका चर्चाप्रति ध्यानाकर्षण भएको भन्दै त्यस्ता प्रचारमा कुनै सत्यता नरहेको प्रस्ट पारेको छ ।

‘आजभाेलि केही दिनदेखि विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमा क. वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ । नेकपा एकीकृत समाजवादी पार्टीमा गइसकेको भन्दै फोटोसहितका ब्यानर प्रकाशित गर्नु उहाँको  चरित्र हत्या गर्नुबाहेक केही होइन। क. वामदेव गौतम अहिलेसम्म एमालेमा नै रहेकाे र नेकपा (एमाले)को नेतृत्वको कार्यशैलीप्रति लामो समयदेखि मतभेद राख्दै आएको कुरा पनि स्वाभाविक हो। तसर्थ अन्यखाले प्रचारप्रसारमा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु,’  सचिवालयले जनाएको छ।

गत साता मात्रै गौतमले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गठन गर्न लागेको नेकपा एकीकृत समाजवादीलाई आफ्नो समर्थन रहने जनाएका थिए । यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग विवाद भएपछि गौतमले स्थायी कमिटी बैठक बहिष्कार गरेका थिए । यस्तै यता माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा एकीकृत समाजवादीले पनि वामदेव गौतम आफूहरुसँगै आउने दाबी गर्दै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार