ताप्लेजुङमा तीन वर्षमा विपद्का घटनाबाट करिब ६ अर्ब क्षति

ताप्लेजुङमा दैवीप्रकोप तथा विपद्का घटनाबाट तीन वर्षमा पाँच अर्ब ९९ करोड ४७ लाख ७४ हजार ४७४ क्षति भएको छ । विपद्जन्य घटनाबाट भएको क्षतिको पछिल्लो तथ्याङ्कलाई हेर्दा सबैभन्दा बढी आगलागीको घटनाबाट ७० प्रतिशत क्षति भएको छ ।

आगलागीका घटनाबाट तीन वर्षको समय अवधिमा चार अर्ब १७ करोड ८० लाख ८८ हजार ९७९ क्षति भएको छ । ९ करोड ६० लाख ६२ हजार ५०० बाढी र पहिराबाट र चट्याङबाट रु १३ लाख १६ हजार क्षति भएको छ ।

जिल्लास्थित विपद् व्यवस्थापन समितिका अनुसार पछिल्लो तीन वर्षमा भएका विपद्का घटनामध्ये सबैभन्दा बढी क्षति आगलागीका कारण भएको पाइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले पछिल्लो तीन आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ मा भएका विपद्का घटनामा सबैभन्दा बढी आगलागीले क्षति गरेको तथ्याङ्क रहेको जानकारी दिए ।

प्रजिअ पाण्डेका अनुसार गएको आव २०७७/७८ मा ताप्लेजुङमा चार अर्ब पाँच करोड ६२ लाख पाँच हजार ३७९ बराबरको क्षति भएको छ । उक्त कूल क्षतिमध्ये आगलागी घटनाबाट मात्रै चार अर्ब तीन करोड ७५ लाख २१ हजार ३७९ बराबरको क्षति भएको तथ्याङ्क रहेको पाण्डेले बताए । गत वर्ष बाढी/पहिरोबाट एक करोेड ६७ लाख ६८ हजार, चट्याङबाट रु १३ लाख १६ हजार र भूकम्पबाट छ लाख बराबरको क्षति भएको छ ।

गत आवमा आगलागी र चट्याङबाट एक–एक तथा बाढी/पहिरोबाट पाँच गरी सात जनाको मृत्यु भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । सो वर्ष विपद्जन्य घटनाबाट २९ वटा पशुचौपाया मरेका छन् भने सात घाइते भएका छन् । यस्तै दैवीप्रकोप तथा विपद्जन्य घटनाका कारण १०२ वटा कच्ची र छ पक्कीसहित १०८ घरमा क्षति पुगेको समितिको तथ्याङ्क छ ।

त्यस्तै आव २०७५/७६ मा भएका प्रकोप तथा विपद्का घटनाबाट सात करोड १३ लाख ७७ हजार ७५० बराबरको क्षति भएको छ । सो बराबरको क्षतिमध्ये आगलागीका घटनाबाट मात्र तीन करोड ७० लाख ४७ हजार २५० बराबरको क्षति भएको छ । उक्त आवमा बाढी/पहिरोबाट तीन करोड ३१ लाख ९० हजार ५०० र हुरीबतासबाट ११ लाख ४० हजार मूल्य बराबर क्षति भएको छ । विपद्मा परेर एक जनाको मृत्यु र छ घाइते भएका थिए । सो आवमा ८७ वटा घरमा क्षति पुगेको थियो ।

त्यसैगरी आव २०७६/७७ मा विपद्जन्य घटनाबाट १५ करोड १५ लाख ७५ हजार ३५० बराबरको क्षति भएको थियो । सो वर्ष आगलागीजन्य घटनाबाट मात्र १० करोड ५३ लाख २० हजार ३५० बराबरको क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिको तथ्याङ्कमा उल्लेख छ । सोही आवमा बाढी/पहिरोबाट चार करोड ६१ लाख चार हजार र चट्याङबाट एक लाख ५१ हजार मूल्य बराबरको क्षति भएको थियो । विपद्का घटनामा सो वर्ष एक जनाको मृत्यु र पाँच जना घाइते भएका थिए । पशु चौपाया सातवटा मरेका थिए । एक पक्कीसहित ३२ वटा घरमा क्षति पुगेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार