माओवादी स्थायी समिति : कार्यविभाजन र राष्ट्रिय सम्मेलनको तयारीमा केन्द्रित

नेकपा(माओवादी केन्द्र) ले पार्टी नेताहरूको कार्य विभाजन, आसन्न पार्टीको राष्ट्रिय सम्मेलनको तयारीलगायतका विषयमा छलफल गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकले पार्टीको वडा तहसम्मको सङ्गठन विस्तार गर्दै चुस्त दुरुस्त सङ्गठन बनाउने र त्यसका लागि कुन नेतालाई के कस्तो जिम्मेवारी दिने विषयमा छलफल गरेको हो । हालै सम्पन्न केन्द्रीय समितिको बैठकको दिशा निर्देशअनुसार पार्टीलाई व्यवस्थित रूपमा अगाडि बढाउने गरी छलफल केन्द्रित गरिएको माओवादीले जनाएको छ ।

माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलनको आयोजना गर्ने घोषणा गरेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार राष्ट्रिय सम्मेलनको तयारी तथा अन्य साङ्गठनिक विषयमा आजको बैठक केन्द्रित थियो ।

केन्द्रीय समितिको निर्णयअनुसार पार्टीका केन्द्रीय, प्रदेश र स्थानीय तहमा रहेको रिक्त पदमा परिपूर्ति गर्ने वा नगर्ने सन्दर्भमा विचार विमर्श भएको बताइएको छ । बैठक आइतबार पुनः बस्नेछ । केन्द्रीय समितिमा प्रस्ताव गरिएको अन्तरिम विधान अनुसार पार्टीका सबै संरचनामा ३५ प्रतिशत महिलाको प्रतिनिधित्व गराइनेछ । युवाको प्रतिनिधित्वलाई पनि सुनिश्चित गरिएको छ भने दलित समुदायलाई पनि विशेष सम्बोधन गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार