मालिका केशरीको तेस्रो उपन्यास ‘दुङाल’ सार्वजनिक

प्रकाशकुमार श्रेष्ठ अर्थात् मालिका केशरीको तेस्रो उपन्यास ‘दुङाल’ सार्वजनिक भएको छ । तिब्बतीयन शरणार्थीका पीडालाई विषयवस्तु बनाएर लेखिएको उपन्यास आज काठमाडौँमा आयोजित कार्यक्रममा इतिहास एवं संस्कृतिका अन्वेषक डा रमेश ढुङ्गेल, राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य सुदीप पाठक, पूर्वस्वास्थ्य सचिव डा सुधा शर्मा र लेखकले सार्वजनिक गरेका हुन् ।

पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै अन्वेषक ढुङ्गेलले राष्ट्रविहीन हुनुपर्दाका अप्ठ्यारा पुस्तकमा समेटिएको बताए । संस्कृति र सामाजिक अवस्थाका कारण प्रेमी–प्रमिकाबीचको वियोगलाई पनि उपन्यासमा प्रस्तुत गरिएको उनले सुनाए । बौद्ध दर्शनभित्रको शान्तिलाई पनि उपन्यासमा देखाउन खोजिएको छ ।

मानवअधिकारकर्मी पाठकले ३५ वर्षअघि नेपाल मानवअधिकार सङ्गठनमा काम गर्दा ऋषिकेश शाहले तिब्बतीयन शरणार्थीका विषयमा हेर्न भनेदेखि आफूले यसलाई नजिकबाट हेरिरहेको बताए । नेपालमा तिब्बतीयन र भुटानी शरणार्थी विधिवतरूपमा बसेको उल्लेख गर्दै उनले तिनका समस्या बाहिर ल्याउन उपन्यास सफल रहेको बताएका छन् ।

पूर्वस्वास्थ्य सचिव शर्माले लेखक पुरुष भए पनि महिला शरणार्थीका भावना उपन्यासमार्फत अभिव्यक्त भएको बताए । लेखक केशरीले जन्मभूमि तनहुँको शरणार्थी शिविरमा देखेका घटनाले आफूलाई यस विषयमा कलम चलाउने प्रेरणा मिलेको सुनाए ।

“उपन्यासमा कति मेरा भोगाइ, कति नजिकका साथीभाइका भोगाइ जसलाई अनुमति लिएर वास्तविक नाममै उतारेको छु, कति विषय कल्पनाका पनि छन्”, उनले भने । नेपालमा शरणार्थी जीवन भोग्न बाध्य तिब्बतीयन युवती कारचुङका माध्यमबाट उहाँले त्यस जीवनका बारेमा पाठकलाई जानकारी दिन यो उपन्यास लेखेको बताए । ‘दुङाल’ तिब्बतीयन शब्द हो । जसको अर्थ दुःख भन्ने हुन्छ । उपन्यासमा शरणार्थीका कथाव्यथालाई शब्दका माध्यमबाट उनिएको छ । खम्पा विद्रोहका सन्दर्भलाई पनि उपन्यासमा समेटिएको छ ।

लेखकका हालसम्म चारवटा कृति प्रकाशित छन् । पहिलो उपन्यास ‘पुरुत्थान’ विसं २०७२ भदौमा प्रकाशित भएको थियो । विसं २०५२ देखि २०६३ का बीचको राजनीतिक घटनाक्रमका बेलाको अन्तरजातीय प्रेमकथामा आधारित भएर लेखिएको ‘पुरुत्थान’ पाठकले मन पराएपछि छ वर्षको बीचमा उनका तीनवटा उपन्यास प्रकाशित भएका हुन् ।

लेखकको दोस्रो उपन्यास ‘सुवर्णलता’ हो । ‘सुवर्णलता’ मा आमाबाबुबाट छुट्टिनुपर्दाका पीडा, विशेषगरी आमाबाबु लाहुर गएका छोराछोरीको अवस्थालाई उपन्यासकार श्रेष्ठले पाठकसमक्ष पस्केका छन् । उपन्यासमा खोजी पत्रकारिताको प्रसङ्ग पनि छ ।

विद्यालय जीवनमा साथीभाइका प्रेमपत्र लेख्दै उनी साहित्य क्षेत्रमा प्रवेश गरेका हुन् । विद्यालय जीवनमा लेखिएको प्रेमपत्रले लेखनमा रुचि जाग्दै जान थालेपछि उनले विसं २०५८ मा कविता सङ्ग्रह ‘मिरमिरे’ निकाले । त्यसो त उनी कक्षा ५ मा पढ्दा विद्यालयले आयोजना गरेको कविता प्रतियोगितामा आमा देवीकुमारी श्रेष्ठले लेखेको कविता वाचन गरेर पहिलो स्थान हासिल गर्न सफल भएका थिए । सानैदेखि कविता, कथाजस्ता विधामा रुचि राख्ने उनलाई युवा अवस्थामा उपन्यास लेख्न सहकर्मीले प्रेरणापुञ्जका रूपमा काम गरेकाले सफल भएको बताए ।

Loading...