मन्त्री शाही भन्छन्- सूर्य चिन्ह प्रयोग राजनीतिक सम्झौता थियो

नेकपा एमालेले कारबाही गरेका लुम्बिनी प्रदेशका सांसद तथा विना विभागीय मन्त्री अजय शाहीले आफू स्वतन्त्र भएको बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कारमा शाहीले एमाले लुम्बिनी प्रदेशले आफूसँग स्पष्टीकरण माग गरेको र प्रदेश सभा सदस्यबाट समेत निष्कासन गर्न कारबाही प्रक्रिया अगाडी बढाएको कुरा कानुनी र राजनीतिक रूपमा कुनै औचित्य नरहेको पनि बताए ।

शाहीले निर्वाचनमा हृदय त्रिपाठीको नेतृत्वमा रहेको तत्कालीन स्वतन्त्र समूह र नेकपा एमालेबिच ०७४ असोज १६ गते भएको राजनीतिक सम्झौता अनुसार सूर्य चिन्हको प्रयोग गरि स्वतन्त्र रूपमै चुनाव जितेको दाबी गरे ।

साक्षात्कारमा नेकपा एमाले संसदीय दलका सचिव तथा पूर्व स्वास्थ्य मन्त्री भोजप्रसाद श्रेष्ठले प्रदेशसभा विधि र कानुन सम्मत नचलेसम्म प्रदेश सभा अवरुद्ध गरिरहने बताए ।

सूर्य चिन्ह लिएर जनताको मत प्राप्त गरी चुनाव जितेका प्रतिनिधि नैतिक र राजनीतिक रूपमा एमालेकै भएको हुँदा प्रतिपक्षले मन्त्री बनाउँदा पनि सभामुखले राजनीतिक पूर्वाग्रह राख्दै कारबाही नहुनु विधि सम्मत नरहेको उनको भनाई छ ।

Loading...