वाग्मती नदीले खेतीयोग्य जग्गा कटान गर्न थालेपछि रोकथामका प्रयास सुरु

वाग्मती नदीमा आएको बाढीले तीव्र रूपमा खेतीयोग्य जग्गालाई कटान गर्न थालेपछि रोकथामका प्रयास सुरु भएको छ ।

केही दिनको वर्षासँगै रौतहटको गढीमाई नगरपालिका ३ स्थित लक्ष्मीपुर गाउँ नजिकै वाग्मती नदीमा आएको बाढीसँगै तीव्र रूपमा खेतीयोग्य जग्गा कटान गर्न थालेपछि वाग्मती तथा लालबकैया नदी नियन्त्रण आयोजना परवानीपुर बाराले रोकथाम कार्य सुरु गरेको हो ।

वाग्मती नदीले स्थानीय किसानहरूको करिब २५ बिगाहा खेतीयोग्य जग्गा कटान गरिसकेको तथा नदीको बहाव तटबन्ध नजिकै पुगेपछि नदी नियन्त्रण आयोजनाले कटान नियन्त्रण गर्न परक्यु पाइन अर्थात् बाँसको भकारी बनाएर रोकथामको प्रयास सुरु गरेको छ । एक साताको वर्षासँगै वाग्मती नदीमा आएको बाढीले तीव्र रूपमा कटान सुरु गर्दा स्थानीय किसानहरूले लगाएको केरा खेती, धानबाली, लगायतका २५ बिगाहा खेती योग्य जग्गा कटान गरिसकेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।

तीव्र गतिमा कटान भइरहँदा समेत बाँसको भकारी बनाएर रोकथामको प्रयास सुरु गरिएपनि यस्तो कार्य दिगो नभएको स्थानीयहरूको भनाई छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार