नयाँ ट्रयाक बनाएर जोडिँदै चामेदेखि माथिल्लो मनाङ

अविरल वर्षाका कारण आएको बाढीपहिराले मनाङ आवतजावत गर्ने स्थलमार्ग अवरुद्ध छ । गत जेठ १४ र असार १ गते आएको बाढीपहिराले तल्लो र माथिल्लो मनाङलाई जोड्ने स्थलमार्ग अवरुद्ध भएको हो । यसले तल्लो र माथिल्लो मनाङको सम्बन्ध विच्छेद भएको छ ।

माथिल्लो मनाङसँग जोडिने जोखिमपूर्ण स्थलमार्ग अवरुद्ध भएपछि आवतजावत पूर्ण रुपमा बन्द भएको छ । धेरै स्थानमा सडक सञ्जालबाट छुटिएको मनाङलाई जोड्नका लागि नयाँ ट्रयाक बनाउन थालिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । “मनाङको लाइफलाइनका रुपमा रहेको मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङमा नयाँ ट्रयाकसहितको भिरको कटान भइरहेको छ, यो भिरमा ट्रयाक निर्माण भएपछि माथिल्लो मनाङसँग जोडिनेछ”, सडक डिभिजन कार्यालय लमजुङका इञ्जिनीयर सुमन अधिकारीले भने । तल्लो र माथिल्लो मनाङ जोड्ने सडकखण्डअन्तर्गत सबैभन्दा अप्ठ्यारो र अति जोखिमपूर्ण रहेको तलेखु–भ्राताङ भिरमा बाढीपहिराले सडक पूर्णरुपमा क्षति भएको छ ।

यस भिरमा सडक निर्माण भएपछि माथिल्लो र तल्लो मनाङ आवतजावतमा सहज हुने उनले बताए । माथिल्लो मनाङका मानिस सामान्य बिरामी भएको अवस्थामा समेत चामेस्थित स्वास्थ्य कार्यालय मनाङसम्म ल्याउन मुस्किल रहेकाले यस सडक मर्मतपश्चात् यहाँ सहज यात्रा गर्न सकिने उनले बताए । “अन्य समयमा पनि जोखिम मानिएको यस खण्डमा बाढीपहिराले धेरै जोखिम बढाएको छ, बम प्रहार गर्नका लागि ड्रिलिङको काम भइरहेको छ, नेपाली सेनाले उक्त क्षेत्रमा चट्टानलाई कोपेर र बम प्रहार गरी बाटो निर्माणको काम गरिनेछ”, इञ्जिनीयर अधिकारीले भने ।

यहाँ चट्टानलाई कोपेर केही भित्रपट्टिबाट सडक सञ्जाल बनाइएको छ । उनका अनुसार उक्त क्षेत्रमा सडक निर्माणका लागि ड्रिलिङको काम सकिएपछि बम हानेर सडक निर्माण गरिनेछ । सडक निर्माणका लागि चट्टानमा प्वाल बनाउने कार्य भइरहेको मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बताए । उनका अनुसार सडक सञ्जाल जोड्नका लागि अन्य स्थानमा जेसिबीको प्रयोगबाट खन्ने कार्य भइरहेको छ । बेंसीशहर–चामे सडकअन्तर्गतको बेंसीशहरबाट माथि २२ किमी सडक खुलाइसकिएको छ । त्यस्तै चामेबाट माथिल्लो क्षेत्रमा पनि सडक खुलाइसकिएको छ भने तलेखु–भ्राताङ भिरको सडक बन्ने प्रक्रियामा छ ।

उक्त सडक मर्मतका लागि गृह मन्त्रालयमार्फत सेनाको हेलिकप्टरबाट इन्धन ल्याइएको थियो । जेठ १४ मा चामेमा सडक विच्छेद भएको थियो । तर पुनः गत असार १ गते आएको बाढीपहिराले मनाङका धेरै स्थानमा सडक पूर्णरुपमा क्षति भएका छन् । अहिले उक्त क्षेत्रमा नेपाली सेनाले पहाड फोडेर सडकको नयाँ ट्रयाक निर्माण भइरहेको इञ्जिनीयर अधिकारीले जानकारी दिए ।

बाढीपहिराको क्षति पु¥याएको सडकको अध्ययन अवलोकनपछि नयाँ सडक निर्माण गर्ने प्रस्ताव भएबमोजिम मर्मत थालिएको हो । बेंसीशहर–चामे सडकखण्ड १०७ किलोमिटर रहेको छ । सडकअन्तर्गत केही स्थानमा नयाँ ट्रयाक पनि खुलाउने प्रयास भइरहेको जनाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार