माधवकुमार नेपाललाई साथ नदिएका नेताहरूले भने – ‘१० बुँदे कार्यान्वयन नभए एमालेमा विद्रोह’

नेकपा एमालेबाट विभाजित भएका माधवकुमार नेपाललाई साथ नदिएका नेताहरूले पार्टी अध्यक्ष केपी ओलीले मंगलबारसम्म १० बुँदे सहमति कार्यान्वयन नगरे बिद्रोह हुने चेतावनी दिएका छन्। शुक्रबार महाराजगञ्जस्थित एक होटलमा भेला भएका नेताहरुले १० बुँदे सहमति कार्यान्वयनका लागि अध्यक्ष केपी शर्मा ओलीलाई दुई दिने अल्टिमेटम दिएका हुन् ।

एक केन्द्रीय सदस्य भन्छन्, ‘अब धेरै अलमल स्वीकार्य छैन । यदि तत्काल सहमति कार्यान्वयन भएन भने एमालेमा विद्रोह गर्छौं ।’

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति तत्काल व्यवहारमा लागू गर्नुपर्ने र कारबाही रोक्नुपर्ने आफूहरुको माग भएको बताए । उनले अघि भने, ‘सरकारले ल्याएको राजनीतिक दल विभजन सम्बन्धी विधेयक कुनै हालतमा स्वीकार्य हुँदैन, यो खारेज गर्नुपर्छ ।’

उनीहरुले अहिलेको अवस्थामा देखा परेका पार्टीका समस्याहरूलाई हल गर्दै पार्टी एकतामा जोड दिने निष्कर्षसमेत निकालेका छन्। १० बुँदेको अक्षरस पालना भएमा माधव नेपाललाई समेत पुनर्विचार गर्न दबाब पुग्ने उनीहरुको तर्क छ। ‘मंगलबारसम्म पनि १० बुँदे सहमति तलैसम्म लागू नभएमा ओलीले बोलेको कार्यान्वयन गर्दैनन् भन्ने प्रमाणित हुन्छ। त्यस्तो अवस्थामा माधव नेपालले लगाउँदै आएको आरोप सत्य रहेछ भन्ने हुन्छ’ बैठकको धारणाबारे नेताहरुले बताएका छन् ।

अध्यक्ष ओली र नेपाललाई दबाब लिँदै संयुक्त वक्तव्य जारी गरेका स्थायी कमिटीका ९ सदस्यले शुक्रबार केन्द्रीय सदस्य र सांसदहरुसँग छलफल गरेका थिए ।

बैठकमा एमाले उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल,सचिवहरु गोकर्ण विष्ट, योगेश भट्टराई भीम आर्चय, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे र रघुजी पन्त सहभागी थिए।

 

 

Loading...