होटलमा गएर महिलाको भिडियो खिच्ने युट्युबर पक्राउ

व्यक्तिगत गोपनियताको ख्याल नगरी भिडियो खिचेको अभियोगमा २ युट्युबर र २ टिक्टकर गरी चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खगेन्द्र घिमिरे, हेमराज भट्टराई, सुवास कार्की र अर्का एकजना रहेका छन् ।

बिर्तामोडको एक होटलमा महिलाहरूले खाजा खाइरहेका बेला भिडियो खिचेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

एक पुरुष र २ महिलाले खाजा खाइरहेको बेला भिडियो खिची युट्युब र टिक्टकमा अपलोड गरेर चरित्र हत्या गरेको भन्दै पीडितले उजुरी दिएपछि उनीहरु पक्राउ परेका हुन् ।

उनीहरूले होटलमा प्रवेश गरी खाजा खाइरहेको बेला अनधिकृत रूपमा भिडियो खिचेर युट्युबबाट चरित्र हत्या गरेको उजुरीपछि पक्राउ गरी थुनामा राखिएको प्रहरीले जनाएको छ । केही युट्युबर भने फरार रहेकोले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

१ भदौमा भएको घटनाको भिडियो सार्वजनिक भएपछि व्यक्तिगत जीवनको विषय बाहिर ल्याएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो । उनीहरूले अनैतिक कार्य नगरेको र होटलमा सँगै बसेर खाजा खाइरहेको अवस्थामा युट्युबरहरुले विभिन्न प्रश्न गर्दैै भिडियो खिचेर युट्युब र टिकटकमा राखेका थिए ।

Loading...