माधव र महन्थलाई सनाखतका लागि निर्वाचन आयोगले भदौ ९ गते बोलायो

नयाँ दल दर्ताका लागि निवेदन दिएका प्रस्तावित नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूलाई निर्वाचन आयोगले सनाखतका लागि भदौ ९ गते बोलाएको छ ।

आयोगले भदौ ९ गते बिहान ११ बजेदेखि २ बजेसम्म सम्बन्धित दलको केन्द्रीय समितिमा रहेका नेताहरुलाई नागरिकतासहित सनाखतका लागि उपस्थित हुन निर्देशन दिएको छ । सनाखत सम्पन्न भएपछि आयोगले प्रक्रिया पुर्‍याएर नयाँ दल दर्ताको प्रमाणपत्र दिनेछ ।

राजनीतिक दलसम्बन्धी ऐन दोस्रो संशोधन अध्यादेश जारी भएपछि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी दर्ताको निवदेन आयोगमा दिइएको छ । त्यस्तै जसपा नेपालका महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि आयोगमा निवेदन परेको छ ।

यसअघि नेपाल र ठाकुरले प्रस्ताव गरेको पार्टीको नाममा फुर्को जोड्न नमिल्ने भएपछि दुवैले शुक्रबार नाम संशोधन गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार